www.tandavnews.com
Fact ~ In search of truth

मकवानपुरमा पेस्तोल र गाँजा सहित पक्राउ

मकवानपुर ।

मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले राक्सिराङ गाउँपालिका–१ का कुमार भनिने राजु स्याङ्तानलाई साढे ३१ किलो गाँजा, एक थान पेस्तोल, पाँच थान गोली र एक थान खोखासहित आज सार्वजनिक गरेको हो । स्याङ्तान गएराति प्रहरीमाथि गोली चलाउने व्यक्ति भएको, प्रहरीको खोजी सूचीमा रहेको र पटकपटक आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ ।

लागुऔषध कारोवारीको नाइकेका रूपमा स्याङ्तानले समूह बनाएर गाँजाको कारोवार गर्ने गरेको प्रहरीको भनाइ छ । मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार विगत लामो समयदेखि राजमार्गमा डकैती र लागुऔषधको कारोवार गर्ने स्याङतान पाँच वर्षअघि काठमाडौँमा १०० केजी गाँजासहित पक्राउ परेर तीन वर्षभन्दा बढी जेल सजाय काटिसकेका व्यक्ति हुन् ।

राक्सिराङका अन्य गाँजा कारोवारीलाई धम्क्याएर गाँजा लुटपाट मच्चाउने स्याङतानलाई मकवानपुर प्रहरीले निकै नै लामो प्रयासपछि पक्राउ गरेको सिंहको भनाइ छ । स्याङतानलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई देख्नासाथ आफूसँग भएको पेस्तोलबाट गोली चलाएको उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीका प्रमुख प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

तत्काल प्रहरीले जवाफी फायर गरेपछि उनीसँग भएका अरु साथी भागेको र उनलाई पक्राउ गरिएको बुढाथोकीको भनाइ छ । विगतमा पनि स्याङतानले गाँजा ओसारपसार गर्ने गरेको र गोली चलाउँदै भाग्ने गरेको प्रहरीको भनाइ छ । प्रहरी र स्याङतान समूहबीच मकवानपुरको मनहरीमा गएराति गोली हानाहान भएको थियो । स्याङतानलाई पक्राउ गर्ने क्रममा एक जना प्रहरी सामान्य घाइते भएको प्रहरी उपरीक्षक सिंहले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.