www.tandavnews.com
Fact ~ In search of truth

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

पर्वत ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि एक महीनाका लागि काम रोकिएको लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

आयोजना प्रमुख आशिष थापामगरले भदौ पहिलो हप्तासम्मका लागि लोकमार्ग विस्तारको काम रोकिएको बताए । “बाटो बन्द भएमा खुलाउनेबाहेक अरु काम हुँदैन”, थापा मगरले भने, “अरु काम मौसमले गर्न दिएन ।” उनले वर्खामा काम गर्दा गुणस्तर पनि नहुने र जोखिम पनि हुने सुनाए ।

अहिले वर्षा भइरहेकाले ठाउँठाउँमा पहिरो जाने समस्या देखिएको छ । सडक अवरुद्ध भएमा तत्काल खुलाउनका लागि जनशक्ति र उपकरणहरु भने तयारी अवस्थामा राखिएको छ ।
यो खण्डमा अहिलेसम्म भौतिक प्रगति ५५ प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ । सदरमुकाम कुश्मा बजार क्षेत्रको चार किलोमिटरबाहेक अन्य खण्डमा कालोपत्र गर्ने सबै संरचना तयार भएको छ । करीब दुई किलोमिटर खण्ड कालोपत्र भइसकेको छ ।

पर्वतसहित बागलुङ, म्याग्दी र मुस्ताङका बासिन्दासमेत यही लोकमार्ग हुँदै आवातजावत गर्दै आएका छन् । दैनिक सयौँ सवारी चल्ने सडकमा अधिकांश स्थानमा पहिरो खस्ने समस्या देखिएको छ ।

तल्लो मोदी जलविद्युत् आयोजनाका कर्मचारी आन्दोलित

पर्वतमा निर्माणाधिन २० मेगावाट क्षमताको तल्लो मोदी जलजविद्युत् आयोजनामा कर्मचारी र आयोजनाबीच फेरी विवाद शुरु भएको छ ।

सहमति विपरीत आयोजना प्रर्वद्धक मोदी इनर्जी लिमिटेडले नयाँ विज्ञापन खुलाएपछि कर्मचारी र आयोजनाका बीचमा विवाद शुरु भएको हो । कर्मचारी स्थायी गर्ने विषयमा असार ९ गते दुवै पक्षबीचमा भएको सहमति उल्लङ्घन गर्दै व्यवस्थापनले नयाँ विज्ञापन गरेपछि कर्मचारीले आन्दोलनको घोषणा गर्दै काम बन्द गर्ने चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयकोे पहल तथा प्रतिनिधिसभाका सदस्य पदम गिरीको उपस्थितिमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनका बीचमा २३ पदमा विज्ञापन खुलाउने र कार्यरत कर्मचारीलाई प्राथमिकता दिने सहमति भएपछि तीन हप्तादेखि रोकिएको निर्माण कार्य सञ्चालन भएको थियो । तर मोदी इनर्जी प्रालिले बिहीबार खुलाएको विज्ञापनमा कार्यरत कामदारले आवेदन दिने पद नै नराखिएपछि उनीहरु आन्दोलनमा उत्रेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा भएको वार्ताका क्रममा आयोजनाको शुरुआतदेखि नै कार्यरत कर्मचारीलाई खुल्ला प्रतिष्पर्धामा भाग लिन दिने र बिदा हुन चाहने कर्मचारीलाई प्रोत्साहन रकम दिने विषयमा सहमति भएको छ । आयोजनाको विद्युत् उत्पादनपछि २३ जनाको दरबन्दीमा खुल्ला विज्ञापन आह्वान गर्ने तथा ४० वर्ष नाघेका कामदारलाई एकलाख १५ हजार रुपैयाका दरमा प्रोत्साहन रकम दिएर बिदा गर्ने सहमति भएको थियो ।

अहिले २३ पदमा विज्ञापन खुलाइएपनि कार्यरत कर्मचारीले आवेदन दिन नसक्ने र सबैजसो पदमा प्राविधिक पद भएकाले सहमति उल्लङ्घन भएको कर्मचारी सौरभ पौडेलले बर्ताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.