www.tandavnews.com
Fact ~ In search of truth

महाशिलामा बालीविज्ञान कक्षा

पर्वत ।

प्राविधिक शिक्षा पढ्नका लागि वर्षेनी लाखौ रुपियाँ खर्चेर शहर बजार जान बाध्य पर्वतको एक विकट गाउँमा बाली विज्ञान विषयको कक्षा शुरु भएको छ ।

महाशिला गाउँपालिकामा पहिलो पटक प्राविधिक धारतर्फको बालीविज्ञान विषयको पढाइ शुरु भएको हो । महाशिला–५ स्थित महेन्द्रज्योति माविमा बालीविज्ञान विषयमा सञ्चालित कक्षाको हालै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले सम्बन्धन दिएपछि यसै शैक्षिक सत्रदेखि पहिलो चरणको कक्षा सञ्चालन गरेको हो । विद्यालयले प्राविधिक एसइइ तहको १८ महीने बालीविज्ञान विषयको कार्यक्रम सञ्चालन गर्ने स्वीकृतिका लागि आवेदन दिएकामा परिषद्को गत भदौ २० गतेको बैठकले शैक्षिक सत्र २०७५÷७६ देखि सम्बन्धन दिने निर्णय गरेको थियो ।

उक्त सम्बन्धन प्राप्त गरेसँगै विद्यालयमा अहिले ४० विद्यार्थी बालीविज्ञान विषयमा भर्ना भइसकेका छन् । हरेक वर्ष ४० जनाको दरले विद्यार्थीलाई भर्ना लिएर पढाइने विद्यालयका प्रधानाध्यापक गोपाल अधिकारीले जानकारी दिए ।

परिषद्ले शुरुमा दुई वर्षका लागि अस्थायी सम्बन्धन दिएको हो । महाशिलामा जिल्लामै पहिलो पटक बालीविज्ञान विषयमा पढाइ शुरु भएपछि समग्र जिल्लाका साथै छिमेकी जिल्ला स्याङ्जा, बागलुङ र गुल्मीसम्मका विद्यार्थी पनि अध्ययनका लागि भर्ना भएको महाशिला – ५ का अध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए।

उनका अनुसार सो मावि गाउँपालिकाकै केन्द्रविन्दुमा पर्ने भएकाले सोही विद्यालयमा बालीविज्ञानको कक्षा सञ्चालन गरिएको हो । पढाइ शुरु यस विद्यालयमा भए पनि अन्तिम परीक्षा भने परीक्षा नियन्त्रण कार्यालयबाट नै सञ्चालन गरिने प्रध्यायानाध्यापक अधिकारीले जानकारी दिए ।

उनका अनुसार बालीविज्ञान विषयमा अध्ययन गर्नका लागि एसइइ परीक्षामा जुनसुकै श्रेणीमा उत्तीर्ण भए पनि भर्ना भएर पढ्न पाउनेछन् । परम्परागत विषयमा मात्रै पढाइ हुँदा वर्षेनी गाउँमा बेरोजगार युवाको सङ्ख्या बढ्दै जान थालेपछि कृषि प्राविधिकको पढाइका लागि माग गरिएको हो । उक्त विद्यालयमा बालीविज्ञान कक्षा सञ्चालनका लागि गाउँपालिकाले पनि आवश्यक सहयोग गर्ने अध्यक्ष राजु पौडेलले जानकारी दिए।

राम्रो लब्धाङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थी उच्च शिक्षाका लागि शहर बजारमा जाने भए पनि आर्थिक रुपमा कमजोर र एसइइमा पनि कम श्रेणी प्राप्त गरेकाको बालीविज्ञान विषयको पढाइमा आकर्षण बढेको वडाध्यक्ष उच्चैको भनाइ छ । अहिलेसम्म यस क्षेत्रका विद्यार्थी कृषितर्फको बालीविज्ञान विषय अध्ययन गर्नका लागि मुस्ताङ, कास्की वा काठमाडौँ जाने गरेका थिए ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.