www.tandavnews.com
Fact ~ In search of truth

माघ ८ देखि मा .वि स्तरीय भलिवल प्रतियोगिता

पोखरा ।

पोखरामा माघ ८ गतेदेखी १२ गतेसम्म सामुदायिक मावि स्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।

कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र, सिमलचौर पोखराले संयुक्त रुपमा कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिवल प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित आयोजित प्रतियोगिताको तयारी शुरु गरिएको विहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराइयो ।

स्कुल स्कुलमा भलिवल खेल पुर्याउने लक्ष्यसहित आयोजना हुने प्रतियोगिता पोखरा रंगशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा खेलाइने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले बताए । प्रतियोगितामा कास्कीका सामुदायिक (सरकारी) विद्यालयहरुको सहभागिता रहने पराजुलीले बताए । कक्षा १२ सम्म अध्ययनरत विद्यार्थी सहभागि बन्नसक्ने प्रतियोगितामा छात्र तथा छात्रा दुबैतर्फ ५०÷५० टिमको सहभागिता रहने अनुमान गरिएको उनले बताए ।

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक मध्येका एक सृजना विकास केन्द्रका अध्यक्ष मिनप्रसाद भट्टराईले बताए । उनले प्रतियोगिताले लुकेर रहेका प्रतिभाको प्रतिभा उजागर गर्नुका साथै खेलाडी उत्पादनमा पनि सघाउने विश्वास व्यक्त गरे ।

पत्रकार भेटघाट कार्यक्रममा सहभागि राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले भलिवल खेलको जग निर्माणका लागि प्रतियोगिता कोशेढुंगा सावित हुने बताए । उनले खेलाडीलाई प्रोत्साहन गर्नका लागि प्रतियोगितामा सहभागि टीम तथा खेलाडीलाई बस्ने, खानेलगायतका सुविधा दिइनुपर्ने धारणा व्यक्त गरे ।

पत्रकार भेटघाटको अवसरमा जिल्ला भलिवल संघका पूर्व उपाध्यक्ष तथा भलिवलका रेफ्रीसमेत रहेका पोखरा समाज अष्टे«लियाका अध्यक्ष राजकुमार अधिकारीलाई भलिवल खेलको विकासमा योगदान दिएको भन्दै दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतियोगिताको उपाधि बिजेतालाई ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएका छन् । यसैगरी प्रतियोगितामा सहभागि सबै टिमलाई तयारीका लागि ५÷५ हजार प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने जनाइएको छ ।प्रतियोगिता सञ्चालन गर्न करीब ८ लाख ५० हजार खर्च लाग्ने अनुमान गरेको सृजना विकास केन्द्रका प्रथम उपाध्यक्ष तथा प्रचारप्रसार संयोजक ईन्द्र पौडेलले जानकारी दिए ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.