www.tandavnews.com
Fact ~ In search of truth

मितेरी अस्पतालको तेस्रो वार्षिकोत्सव, पोखरामा छिट्टै सस्तो नर्सिङ कलेज खोल्ने तयारी :सांसद थापा

पोखरा ।

मातृशिशु मितेरी अस्पतालको तेस्रो वार्षिकोत्सव आज एक कार्यक्रमका बिच सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा नागरिक सहयोग समितिद्धारा निर्मित प्रशासनिक भवन अस्पताललाई हस्तान्तरण गरिएको छ ।

अस्पताल परिसरमा सम्पन्न कार्यक्रममा सहयोग समितीका अध्यक्ष डा. नारायण गौतमले चाबी हस्तान्तरण गरेका थिए । सहयोग समितीले अस्पतालका संस्थापक १५ कर्मचारीलाई २० हजार नगद सहयोग गरेको थियो ।

अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष उषा बरुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद कृष्णा बहादुर थापाको प्रमुख अतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै सांसद थापाले नर्सिङ पढ्नको लागि १५–२० लाख खर्च गर्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै कम खर्चमा पढ्न सकिने वातावरणको सिर्जना गर्ने र त्यस्तो कलेज यही अस्पताल परिसरमा सञ्चालन गर्ने तयारी भईरहेको बताए ।

उनले भने,‘ यस प्रदेशको सांसद भएको हैसियतले जनताका छोरीहरुले अहिले जति खर्च गरेर पढ्न बाध्य छन् त्यसको आधा पनि नलाग्ने सस्तो नर्सिङ कलेज खोल्नेबारे छलफल गरिरहेको छु । यो छिट्टै सम्भव हुनेछ र यस मितेरी अस्पतालाई स्वास्थ्य क्षेत्रको केन्द्रको रुपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य छ । ’यस्तै सांसद थापाले मितेरीका डाक्टरको लागि सुविधासम्पन्न क्वाटर छिट्टै बनाउने प्रतिबद्धता व्यक्त गरे ।

सांसद थापाले मितेरी अस्पताल परिसरमा उपचारका लागि आउने बिरामीसँग राम्रो व्यवहार गर्न, विरामीबीच विभेद नगर्न र बिरामी आउँदा बिरामी समस्या सोध्ने तर पैसा छ कि छैन भनेर सोधेपछि मात्र उपचार प्रक्रिया सुरु गर्ने चलनको अन्त्य गर्न आग्रह गरे ।

यदि उपचारको लागि रकम जुटाउन नसक्ने बिरामी आएमा उपचार नरोक्न आग्रह गर्दे उनले नागरिक सहयोग समितिसँग सम्पर्क गर्न अनुरोध गरे ।कार्यक्रममा जिल्ला समन्वय समितीका सदस्य गोमा गिरी गौतम, पोखरा वडा नम्बर १६ –का नेकपा पार्टी अध्यक्ष जगन्नाथ तिमिल्सीना र निर्वाचित वडाअध्यक्ष – १६ का जिवन आचार्यको उपस्थिती रहेको थियो ।

स्थापनाकालमा यस अस्पतालको नाम मातृ शिशु मितेरी अस्पताल पोखरा कोमागाने रहेको थियो सरकारलाई हस्तान्तरण गरेपछि अस्पतालको नाम मातृ शिशु मितेरी अस्पताल रहेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.