www.tandavnews.com
Fact ~ In search of truth

मिलेनियम टेकमा वृहत गुरुयोजनाको काम

पोखरा।

सहस्राब्दी पदमार्ग(मिलेनियम ट्रेक) व्यवस्थापन समितिले मिलेनियम ट्रेकको समग्र विकास एवं प्रर्वद्धनलाई लक्षित गरी वृहत गुरुयोजना निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको पदयात्रा मार्गको समग्र विकासलाई लक्षित गरी वृहत गुरुयोजनालगायतका काम अघि बढाइएको हो ।

समितिले पदयात्रा मार्ग र यसका सम्भावनालाई उजागर गर्दै अधिकतम पर्यटकलाई उक्त क्षेत्रमा पुर्याउने दीर्घकालीन सोचका साथ आफ्ना गतिविधिलाई अघि बढाएको महासचिव हर्क गुरुङले जानकारी दिए । “पदमार्ग क्षेत्रमा पर्ने धार्मिक एवं ऐतिहासिक स्थल, दृश्यावलोकन स्थल, घरवासलगायतका विषयलाई समेटेर विस्तृत गुरुयोजना निर्माणको काम भइरहेको छ”, उनले भने, “गुरुयोजना निर्माणका लागि १५ लाख छुट्याइएको छ ।”

Batas

गुरुयोजना तर्जुमा समिति संयोजक श्रीकान्त खतिवडाका अनुसार सम्पूर्ण पदमार्ग क्षेत्र समेट्ने गरी प्रमुख छ वटा उद्देश्यलाई गुरुयोजनामा समेटिएको छ । गुरुयोजनामा यहाँका पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षण र विकासका साथै पदमार्ग क्षेत्रमा पर्ने रक गार्डेन, चरा पर्यटनका सम्भावना, मिलेनियम गुफा, थुम्काथुम्कीलगायतको संरक्षण र उपयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

पदयात्रा पर्यटनको विकासका लागि उत्पादन हुने क्षेत्रको पहिचान गर्दै कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्य राखिएको छ । यस क्षेत्रमा पूर्वाधार एवं स्थानीयको क्षमता विकासका साथै अध्ययन अनुसन्धानको पाटोलाई निरन्तरता दिइने गुरुयोजनामा समेटिएको संयोजक खतिवडाले जानकारी दिए ।

“छ वटा प्रमुख उद्देश्यका साथै अन्य २४ वटा रणनीतिक उद्देश्यसहित पाँच वर्षको अवधिमा विभिन्न ९२ वटा कार्यक्रम सञ्चालन गर्ने विषयलाई जोड दिइएको छ,” उनले भने, “गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेका कारण असार मसान्तसम्म यसलाई पुस्तकाकार रुपमा ल्याउने तयारी गरेका छौँ ।”

समितिले यस क्षेत्रमा प्रचलित मगर समुदायको सोरठी, यानीमाया, गुरुङ समुदायको घाटु, ब्राम्ह्ण, क्षेत्रीको बालनलगायतका संस्कृतिको संरक्षणलाई पनि जोड दिएको छ । विश्वमा नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर मिलेनियम ट्रेकमा पर्याप्त सङ्ख्यामा रहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं भैसेगौँगा सामुदायिक घरबासका अध्यक्ष बालकुमार गुरुङले जानकारी दिए ।

यहाँका मनमोहक वन जङ्गलमा पाइने चराचुरुङ्गीका कारण यो क्षेत्र चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण रहेकाले समितिले यहाँ पाइने चराचुरुङ्गी एवं वन्यजन्तु समेतको यकिन तथ्याङ्क सङ्कलन गर्न लागेको छ । मिलेनियम ट्रेक व्यवस्थापन समिति र पोखरा पक्षी समाजबीच सम्झौता भई छ लाख रुपैयाँ छुट्याइएको छ । कतिपय पाहुना चरा आउने–जाने क्रम हुने भएकाले यसका लागि एक वर्ष समयावधि निर्धारण गरिएको महासचिव गुरुङको भनाइ छ ।

पदमार्गमा जाने पर्यटकलाई विभिन्न स्थानबारेको जानकारी एवं सङ्केत पाटी अपरिहार्य हुने महसुस गर्दै समितिले यस क्षेत्रमा विभिन्न ४० स्थानमा सङ्केत दिने सूचना पाटी राख्ने भएको छ । सूचना पाटीका लागि नेपाल पर्यटन बोर्डबाट रु दुई लाख ५० हजार छुट्याइएको बोर्डको पोखरा कार्यालयका लेखा अधिकृत गोपाल भण्डारीले जानकारी दिए । सूचना पाटीसँगै पदमार्गमा जाने पर्यटक लाभान्वित हुने उनले बताए ।

महासचिव गुरुङका अनुसार ४० स्थानमा सूचना पाटी राख्न लगभग तीन लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएकोमा थप रुपैयाँ भने समितिका तर्फबाट व्यवस्थापन गरिनेछ । मिलेनियम ट्रेकको बजारीकरणको विषयलाई आफूहरूले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले यहाँको डिजिटल बजरीकरणका लागि समिति र मण्डला आइटी सोलुसनबीच १७ लाख रुपैयाँमा सम्झौता गरिएको जानकारी दिए ।

समितिले पदमार्ग क्षेत्रका विभिन्न चार ठाउँमा पदयात्रा मार्ग सुधारका साथै शौचालय लगायतका अत्यावश्यकीय पूर्वाधारको निर्माण गरेको छ । गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र ‘भिजिट नेपाल २०२०’ समेतलाई लक्षित गरी पूर्वाधार निर्माण अघि बढाइएको हो ।

यस अवधिमा मिलेनियम ट्रेकअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ रजस्थलस्थित ढोर मूलकोट दरबार जाने ५५० मिटर दूरीमा सिँढी निर्माण गरिएको छ भने पुतलीबजार नगरपालिका–१२ पेल्काचौरमा पर्यटक लक्षित शौचालयका साथै ३५० मिटर दूरीमा सिँढी बाटोे निर्माण गरिएको छ ।

समितिले तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ र स्याङ्जाको पुतलीबजार नगरपालिका–७ बीचमा पर्ने मिलेनियम गुफा क्षेत्रमा करीब ५०० मिटर दूरीमा सिँढी बाटो निर्माणका साथै स्याङ्जाको वालिङ नगरपालिका–३ बुढाकोटको दृश्यावलोकन स्तम्भ जाने बाटोको २५० मिटर दूरीको सिँढी बाटो निर्माण गरेको छ ।

सन् २००० मा सञ्चालनमा आएर पनि यसबीचमा देशको द्वन्द्वको अवस्थालगायतका कारणबाट यस पदमार्गले गति लिन सकेको थिएन । २०६५ पछि २०७२ सम्म पुनः पर्यटकको आगमन बढेको थियो । पछिल्लो समयमा भने विस्तारै बढ्दै पर्यटकको आगमनले स्थानीयमा उत्साह छाएको छ ।

नेपालमै मध्यपहाडी क्षेत्रको पहिलो पदयात्रा मार्गका रुपमा रहेको मिलेनियम ट्रेकअन्तर्गत तनहुँ र स्याङ्जा जिल्लाका साविक २३ गाउँ विकास समिति पर्दछन् । पदयात्रा मार्गका विभिन्न स्थानबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, लमजुङ, गणेश हिमालसहितका हिमाली दृश्यका साथै पोखरा आसपासका काहुँकोट, हुडिकोट, कोटदरबार, बरपाण्डेथुम, ढोर दरबारलगायत पहाडी स्थानका रमणीय दृश्य पनि एकसाथ अवलोकन गर्न सकिन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.