www.tandavnews.com
Fact ~ In search of truth

मुख्यमन्त्रीको प्रस्ताव : पर्यटक बढाउन जुवा घर र क्यासिनो खोलौं

पोखरा । 

पर्यटनलाई समृद्धिको मुख्य आधार मानेको गण्डकी प्रदेशका मुख्यमन्त्री विभिन्न कारण चर्चामा रहिरहन्छन्। कहिले संघीय सरकारसँगको कुरा त कहिले पोखरामा इन्जोय जोन खोल्ने विषय उठान गरेर उनी चर्चामा आइरहन्छन्। उनै मुख्मन्त्री गुरुङले सोमबार एक कार्यक्रममा पर्यटन प्रवद्र्धनका लागि जुवा घर खोल्नु पर्ने बताएका छन्।

आन्तरिक पर्यटन वर्ष २०१९ मूलआयोजक समितिको पहिलो बैठक तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन्। ‘कतारको भ्यालेन्सियन र ग्यालरी दुई ठाउँको जुवाखाल भ्रमण गर्ने अवसर पाएको थिएँ। त्यहाँ रहेको जुवा घरमा वर्षेनी पाँच लाख मान्छे जुवा खेल्न आउने’, आफू कतार भ्रमणमा रहँदा जुवा खालमा देखेको कुरालाई सम्झँदै मुख्यमन्त्री गुरुङले भने, ‘त्यसरी आउनेलाई बसले स्टेशनबाट निशुल्क ल्याउँदो रहेछ, जाने बेला फेरि जहाँबाट ल्याएको हो त्यहीँ छोड्ने रहेछ।’ जुवा घरमा त्यहाँ छिरेपछि दुध, चिया जे खान पनि पाइने अनुभव उनले सुनाए।

Batas

त्यहाँ जुवा खेल्नेहरु कालो सुटमा सजिएर आएकोसमेत उनले सम्झिए। नेपालमा कौडा, क्यासिनोलाई ब्यवस्थित गर्नुपर्ने बेला आएको गुरुङले बताए। ‘हाम्रोमा कौडा हानेर घरबार बिगारेको, सम्पत्ति सकेको, श्रीमती र छोराछोरीलाई दाउ हानेको सुन्छौँ,’ उनले भने, ‘त्यसकारणले हामीले जुवा खेल्नेलाई खत्तम भन्छौँ। तर, व्यवस्थित क्यासिनो खोल्न जरुरी छ। त्यहीँ आउँछ त्यहीँ खेल्छ, त्यहीँ खान्छ। क्यासिनोले सरकारलाई कर पनि तिर्छ। पर्याप्त पर्यटक आउँछन्। जति धेरै बस्यो, उति धेरै पैसा पायो, जति धेरै सुत्यो, उति धेरै पैसा पायो। जति धेरै पियो उति धेरै पैसा पायो। यो चाहिँ नेपालीका लागि होइन, विदेशलाई हो।’

उनले जुवा, क्यासिनो खेल्न नेपाल आउनेलाई कहाँ जाने भन्दा फलानो ठाउँमा जाने बनाउन जरुरी रहेको समेत बताए।  ‘मान्छेले बनाएपछि ढुंगा पनि सुन बन्छ,’ जुवा क्यासिनो नराम्रो कुरा नभएको प्रष्ट्याउन उनले भने।

पर्यटन मन्त्रालयले गरेको उक्त कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका ८५ वटा स्थानीय तहका प्रमुखहरु र जिल्ला समन्वय समितिका प्रमुखहरुको सहभागिता रहेको थियो। गण्डकी सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्ष घोषणा गरेको छ महिना पछि सोमबार पहिलो बैठक बसेको थियो। गण्डकीका पर्यटनमन्त्री विकास लम्सालले बाँकी अवधिमा सोचे अनुसारकै पर्यटक आउने बताए।

‘यो सिजन अफ सिजन हो, यो बेलामा त चहलपहल छ भने हाम्रा कमिटीहरुले काम सुरु गरेपछि कस्तो होला,’ उनले भने, ‘दशैँपछि पर्यटक थेगिनसक्नु हुन्छन्। नेपाल भ्रमण वर्ष सफल बनाउन हामीले यो भ्रमण वर्ष मनाइरहेका छौँ, सतप्रतिशत हामी सफल हुन्छौँ।’

उनले अहिले पर्यटनका संख्या भन्दा पनि राम्रा पर्यटकको आगमन बढाउन जोड दिन थालेको बताए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.