www.tandavnews.com
Fact ~ In search of truth

मुलुक डिजिटल नेपालतर्फ अग्रसर : प्रधानमन्त्री ओली

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक डिजिटल नेपाल, इ गभर्नेन्स र पेपरलेस टेक्नोलोजीमा अगाडि बढिसकेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसरमा सो टेलिभिजनको चारै वटा च्यानलको हाइ डिफिनेसन (एचडी) रुपान्तरणको शुभारम्म गर्दै प्रधानमन्त्री ओलीले अब कृषि, उद्योग, व्यापार, पर्यटन, पूर्वाधार, उर्जा, शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा नेपाललाई आधुनिकीकरणमा प्रवेश गराइने पनि बताए । उनले नेपाली र स्वीट्जरल्याण्डका वैज्ञानिक मिलेर सुपर कम्प्युटर बनिसकेको र अरु पनि बन्ने जानकारी दिए ।

उनले भने , “नेपाल हरेक क्षेत्रमा हरेक दिन आधुनिकतासँगै एक कदम अगाडि बढिरहेको छ । हासिल गरेका उपलब्धिका जगमा आर्थिक समृद्धि, सुशासन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अघि बढिरहेका छौँ । हामी सबै आधुनिक नेपालको दौडमा अघि बढ्न सकौँ ।” नेपाल टेलिभिजन स्थापना हुँदा आफू पञ्चायतविरोधी आन्दोलनका क्रममा पोखरा कारागारमा रहेको स्मरण गर्दै उनले टेलिभिजनको शुरुआतसँगै नेपालमा परिवर्तन र जागरणको युग आरम्भ भएको उल्लेख गरे ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्य टेलिभिजनभन्दा नेपाल टेलिभिजनमा केही फरक दायित्व भएको उल्लेख गर्दै यो सरकारी संस्था नभई राष्ट्रको टेलिभिजन, जनताको टेलिभिजन हो भने । उनले भने, “नेपाल टेलिभिजनमा कुनै सरकारी हस्तक्षेप छैन । सरकारकै विरोधमा सामग्री प्रसारण हुँदा पनि सरकारले केही भनेको छैन । यो संस्था बनाउने कार्यरत कर्मचारी र पत्रकारको हो । सरकारले सँधै सहयोग गर्दै आएको छ ।”

“नेपाल टेलिभिजनलाई नयाँ प्रविधिमा लान गाह्रो मानेर र त्यसमा निहुँ खोजेर कसको सेवा गर्दैछौँ ? यस टेलिभिजनले अरुसँग प्रतिस्पर्धा गरोस् भन्ने, खेतमा कुटो कोदालो र पानी नदिने अनि मङ्सिरमा धान खोज्ने कसरी सम्भव हुन्छ ?” मन्त्री बाँस्कोटाले आग्रह गरे, “ चारतारे लालतारे बनेर होइन टेलिभिजनको कर्मचारी भएर प्रस्तुत भएर वा मन्त्रीतिर हेरेर होइन प्रतिस्पर्धीलाई हेरेर काम गर्नुस् ।”

मन्त्री बाँस्कोटाले अबको छ महीनापछि सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा जानुपर्ने आग्रह गरे । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर पिएसबीमा लान कानूनी प्रबन्ध हुन बाँकी छ ।
टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले टेलिभिजनको समाचार कक्षलाई स्वतन्त्र बनाई व्यावसायिक बनाउन राष्ट्रको आकाङ्क्षालाई सम्बोधन गर्ने र जनताकेन्द्रित मार्गदर्शन दिइएको बताए । उनले सञ्चार क्षेत्र आलोचक हुनुपर्ने भए पनि अब नकारात्मक भइरहनुपर्ने अवस्था नरहेको जनाए ।

टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले नयाँ प्रविधिसँगै विषय र प्रस्तुतिमा पनि रुपान्तरणको वर्ष आरम्भ भएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.