www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको ताकमकोत पुनःनिर्माण

म्याग्दी ।

म्याग्दीको धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोत, जगन्नाथ–अन्नपूर्ण मन्दिर चन्दा सङ्कलनबाट पुनःनिर्माण भएको छ । स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट चन्दा जुटाएर पुनःनिर्माण भएको हो ।

१६ औँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो । कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण गरेको पुनःनिर्माण समितिका अध्यक्ष तेजिन्द्र थापाले जानकारी दिए ।

‘गुरुयोजनाअनुसार पहिलो चरणको निर्माण चन्दाबाट गर्यौँ’, उनले भने, ‘साढे दुई करोड लागत अनुमान गरिएको गुरुयोजना कार्यान्वयनका क्रममा ९० लाख खर्च भइसक्यो । चन्दा घोषणा भएको रकम सङ्कलन जारी छ ।’

पुरातत्व विभागबाट अनुमति लिएर उसले स्वीकृत गरेको डिजाइनअनुसार जीर्णोद्धार गरिएको हो । मन्दिर पुनःनिर्माणका लागि अमेरिकामा रहेका रघुनाथ सुवेदीको पहलमा स्वदेश तथा विदेशमा चन्दा संकलन अभियान सञ्चालन गरिएको हो ।

यस वर्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ५० लाख र गाउँपालिकाबाट दश लाख विनियोजन भएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । कोत परिसर घेराबार, उद्यान, प्रवेशद्वार, दृष्य अवलोकन केन्द्र बनाउने तयारी छ ।

ताकमदेखि कोत नजिकै सडक पुगेको छ । सडकदेखि उकालो भिरालो बाटोमा रेलिङसहितको १५० मिटर बढी पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको छ ।

‘ताकमकोतलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने योजना छ’, उपाध्यक्ष छन्त्यालले भने, ‘ताकमकोत हुँदै मालिका–जलजला–ढोरपाटन जोड्ने पदमार्गको सम्भाव्यता अध्ययन गर्दैछौँ ।’

विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् ।

म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास रहेको पूजा व्यवस्थापन समितिका संयोजकसमेत रहेका वडाध्यक्ष कलानिधि सुवेदीले बताए । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवीदेवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

समुद्री सतहदेखि दुई हजार ५०० मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलाको साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.