www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीको मालिका धुरी जाने पदमार्गमा झोलुङ्गे पुल

म्याग्दी ।

धार्मिक पर्यटकीयस्थल मालिका धुरी जाने पदमार्गमा रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीस्थित उपल्लो ठूलोखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल सहयोग कार्यक्रमकमो प्राविधिक तथा गाउँपालिकाको आर्थिक सहयोगमा ५७ मिटर लामो उक्त झोलुङ्गे पुल निर्माण भएको हो ।

पुल निर्माणपछि ठाडाखानी, दुखु र बिमका साथै मालिका आवतजावत गर्ने पर्यटक र भक्तजनलाई सहज भएको वडाध्यक्ष मनकुमार शेरपुजाले बताए । “खोलामा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ”, उनले भने ।

बर्खामा बाढी आउँदा आवतजावत बन्द हुने गरेको थियो । ३३ लाख ८० हजारको लागतमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर छन्त्यालले जानकारी दिए ।

पुल निर्माणका लागि गैरसरकारी संस्था मिलन म्याग्दीले सामाजिक परिचालन र प्राविधिक सहयोग गरेको थियो । मजदुरको ज्याला र निर्माण सामग्री खरीद गाउँपालिकाले गरेको हो । समुद्री सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा मालिका धुरी रहेको छ ।

यहाँ बुद्धजयन्ती, तिहार र जेष्ठ पूर्णिमामा पूजाआजा गर्नेको घुइँचो लाग्छ । यहाँबाट धवलागिरि, अन्नपूर्ण, निलगिरि र माछापुच्छ्रे हिमालको दृश्यावलोकन गर्न सकिन्छ । मालिका गाउँपालिकाको बिम, दुखु, रघुगङ्गाको ठाडाखानी, मङ्गलाको टोड्के र हिदी भएर मालिका पुग्न सकिन्छ ।

मालिका गाउँपालिकाले गत आर्थिक वर्षमा बिम बाइन्दफाँट हुँदै मालिका धुरी नजिकैको नुनथलासम्म सडक खनेको छ । यसैगरी मन्दिर परिसरमा पूजा स्थललाई फराकिलो बनाउनुको साथै रेलिङसहितको पदमार्ग र आश्रयस्थल निर्माण गरिएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए ।

रघुगङ्गा गाउँपालिकाले गत आवमा ठाडाखानीदेखि मालिका धुरी जाने पदमार्ग निर्माण गरेको थियो । पूर्वाधार निर्माण भए पछि मालिका जाने पर्यटक र भक्तजनलाई सहज भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.