www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा असिनाले लाखौँ मुल्यको अन्नबाली नष्ट

गलेश्वर ।

म्याग्दीमा केही दिनदेखि लगातार परेको असिना पानीले लाखौँ मूल्य बराबरको अन्नबालीमा क्षति पुर्याएको छ । असिना पानी र हावाहुरीका कारण गाउँमा सडक र खानेपानीसमेत अवरुद्ध भएपछि स्थानीयको दैनिकी कष्टकर बनेको छ ।

जिल्लाको मङ्गला गाउँपालिका वडा नं ३ र ४ मा हावाहुरीसँगै परेको असिना पानीले तरकारी, अन्नबाली र फलफूल नष्ट भएको छ । अत्यधिक वर्षाका कारण मङ्गला– ३ को वडा कार्यालयबाट झाक्रपानीसहित विभिन्न बस्ती जोड्ने ग्रामीण सडकसमेत प्रभावित भएको स्वास्थ्यचौकीका अहेव बबरजंग पालले जानकारी दिए ।

Batas

“खेतभरि हिउँजस्तै सेताम्मे असिनाले अन्नबाली सखाप पारेको छ, खानेपानी र सडकमा समेत क्षति पुगेको छ”, पालले भने । उनका अनुसार बरञ्जाको ग्रामीण सडक वर्षातको समयमा जस्तै अवरुद्ध हुनुका साथै सडक आसपासका क्षेत्रमा पहिरो गएपछि खानेपानीको पाइपमा क्षति पुग्दा खानेपानीको समेत समस्या भएको छ ।

पहिराले वडा नं ४ को दुर्दी, भित्रीवन, महेशगाउँ, धापुङलगायतका क्षेत्रमा सडक अवरुद्ध भएको छ भने पहिराले खानेपानीका लागि प्रयोग गरिएको पाइप बगाएपछि घरघरमा रहेका धारामा खानेपानीको आपूर्तिसमेत बन्द भएको महेशगाउँका स्थानीय कृषक दलबहादुर पुनले जानकारी दिए ।

दैनिकजसो असिना पानी र हावाहुरीले तरकारी तथा गहुँबाली नष्ट भएको वडा नं ४ का अध्यक्ष ओमबहादर रोकाले बताए । असिनापानी र हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन जारी रहेको बताउँदै तत्काल सडक र खानेपानी नियमित बनाउने प्रयास जारी रहेको वडाध्यक्ष रोकाले जानकारी दिए ।

यता गाउँपालिकाले असिनापानीका कारण अस्तव्यस्त भएका क्षेत्रमा सडक र खानेपानीसहित स्थानीयलाई सहज आवतजावत हुने गरी काम गर्ने जनाएको छ । केही दिनयता हिउँदभरिको खडेरीका कारण खेतीबारीमा बालीनाली फस्टाउन नसकेको अवस्थामा असिना पानीले नष्ट गरेपछि जिल्लाका अधिकांश क्षेत्रमा करोडौँको क्षति पुगेको छ । प्रहरीमार्फत क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले बताए ।

बेनी नगरपालिका, मङ्गला, मालिका गाउँपालिकामा गहुँबाली थन्क्याउने बेलामा परेको असिनाले पूरै नष्ट गरेपछि कृषकले क्षतिको मूल्याङ्कन गरी राहतको व्यवस्था र बाली बीमा कार्यक्रम कार्यान्वयनको मागसमेत गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.