www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा एक महीनामा पाँच हेलिप्याड

गलेश्वर ।

आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि म्याग्दीका प्रत्येक वडामा हेलिप्याड बनाउने अभियानले तीव्रता पाएको छ ।

दुई महीनाभित्र जिल्लाका ६ वटै स्थानीय तहका ४५ वटै वडामा हेलिप्याड निर्माण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानअन्तर्गत एक महीनाको अवधिमा जिल्लाका मालिका, मङ्गला र रघुगङ्गा गाउँपालिकाका पाँच वडामा हेलिप्याड निर्माण भइसकेका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।

प्रजिअ अधिकारीले दिएको जानकारीअनुसार मालिका गाउँपालिका देवीस्थान, मङ्गला गाउँपालिका–२ हिदी, रघुगङ्गा गाउँपालिका–६ पाखापानी, मालिका गाउँपालिका–२ रुम र कुहूँको महभीरमा हेलिप्याड निर्माण भइसकेको छ । अन्य वडामा पनि हेलिप्याड निर्माणका लागि स्थल छनोटको काम भइरहेको जनाइएको छ । एउटा हेलिप्याड बनाउन करीब ३० हजार रुपैयाँ खर्च लाग्छ ।

स्वास्थ्य केन्द्र आसपासका क्षेत्रमा हेलिप्याड बनाउन जिल्ला विपद् व्यवस्थापन समितिले स्थानीय तहसँग सहकार्य गरेको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ शुरू गरेपछि वडास्तरमै हेलिप्याड बनाउन थालिएको हो ।

विकट वडाको एक बस्तीबाट अर्कोमा पुग्न एक दिनसम्म लाग्ने भएकाले एउटै वडामा तीन वटासम्म हेलिप्याड आवश्यक पर्ने स्थानीय जनप्रतिनिधिले औँल्याएका छन् । हेलिप्याडले आन्तरिक तथा बाह्य पर्यटकको आवतजावतसमेत सहज बनाउने विश्वास लिइएको छ ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.