www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दीमा एक सय मेगावाट क्षमताको नीलगिरि निर्माण शुरु

म्याग्दी ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।

नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो ।कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिए ।

Batas

नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युतगृहदेखि छोटेपा भन्ने ठाउँमा रहने बाँधसम्म सडक पुर्याएको छ । छोटेपादेखि नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित नीलगिरि खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक पुर्याउन काम शुरु गरिएको छ ।

डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११.५ किलोमिटर सडक निर्माण गरिएको हो । रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ ।नीलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानी नजीकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । सुरुङ, विद्युतगृह र बाँधको संरचना एकैसाथ निर्माण अघि बढाउने तयारी गरिएको इञ्जिनीयर केशव वाग्लेले बताए ।

“नदीको उचाइ धेरै भएकाले दुई वटा आयोजना निर्माण गर्न लागिएको हो”, उनले भने, “स्रोत जुटाउनेदेखि अन्य सबै प्रक्रिया पूरा भइसकेको छ ।” पहुँचमार्ग बनेपछि निर्माण सामग्री ढुवानी गर्न र आवत–जावत गर्न सहज भएको छ ।

१३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको सो आयोजनाका लागि लगानी जुटिसकेको छ ।चार दशमलव चार किलोमिटर सुरुङ हुने नीलगिरि क्यासकेडको पेनस्टक पाइपलाइन भूमिगत बनाइने भएको छ भने नीलगिरिको सुरुङ दुई हजार ४०० मिटर हुने आयोजनाले जनाएको छ ।

आगामी चार वर्षभित्र आयोजना पूरा गरिने लक्ष्य छ । विकट भएर पनि पर्याप्त उपकरण र जनशक्ति परिचालन गरिएको प्रतिनिधि गौतमले बताए । ‘रन अफ द रिभर’ प्रकृतिको यो आयोजनाका लागि ठेकेदार कम्पनीसमेत छनोट भइसकेको छ । यहाँबाट उत्पादित विद्युत् दानामा निर्माणाधीन २२० केभी क्षमताको सबस्टेशनमा पुर्याई केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । नारच्याङमा हाल दश वटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

पाँच मेगावाटको घलेम्दी र ४२ मेगावाटको मिस्त्रीखोला निर्माणको अन्तिम चरणमा छन् । यसैगरी १६५ मेगावाटको कालीगण्डकी गर्ज, चार मेगावाटको रेलेखोला, नौ मेगावाटको सुपर घलेम्दीलगायत आयोजना निर्माणको प्रक्रियामा रहेका स्थानीयवासी सुवास विश्वकर्माले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.