www.tandavnews.com
Fact ~ In search of truth

यसपाली भ्यालेन्टाइन डे मा गुलाफको मुल्य बढ्ने

काठमाडौँ ।

यस वर्षको प्रणय दिवसका लागि एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।

गत वर्ष एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ ।

एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ फूलको अन्तर्राष्ट्रियरूपमा नै मूल्य बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य वृद्धि हुनेछ । नेपालमा वार्षिक २० करोडको गुलाफ फूलको कारोबार हुने गरेको छ । आन्तरिक उत्पादन २० प्रतिशत र बाह्य देशबाट आयात गरिने ८० प्रतिशत रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आयात गरिएका गुलाफमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत खपत हुने एशोसिएसनले जनाएको छ ।

गत वर्ष प्रतिगुलाफ ४० देखि ८० सम्म तिरेर उपभोक्ताले खरिद गरेका थिए । यस वर्ष ५० देखि १०० सम्म पर्ने हुँदा गत वर्षको तुलनामा यस वर्ष १५ प्रतिशतसम्म मूल्यवृद्धि हुने पनि एशोसिएसनले जानकारी दिएको छ ।

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा यस दिवसलाई विशेष महत्वका साथ लिने गरेको पाइन्छ । प्रणय दिवस फेब्रुवरी १४ तारिखमा पर्दछ तर उक्त दिनभन्दा एक हप्ता अघिदेखि नै यसलाई मनाउने प्रचलन रहेको छ । प्रेमको प्रतीक मानिले रातो गुलाफ यस दिवसमा प्रेम जोडीले एकअर्कालाई दिएर मनाउने गर्दछन् ।

नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ । फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ ।

गुलाफको व्यावसायिक खेती गरिने जिल्लामा काठमाडौँ उपत्यकाका तीन र काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लामा यसको खेती विस्तार हुने क्रम रहेको छ । व्यावसायिकरूपमा गुलाफका ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ ।
यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५३ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् । विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.