www.tandavnews.com
Fact ~ In search of truth

युवा उद्यमशीलतालाई प्रोत्साहनः मन्त्री विष्ट

काठमाडौं ।

उत्कृष्ट १० युवा उद्यमीका नवीन उद्यमको प्रस्तुतीकरणमार्फत युवा उद्यमशीलता विकास गर्ने उद्देश्यले राजधानीमा दुईदिने बृहत् राष्ट्रिय संवादको आयोजना गरिएको छ ।

युएनडिपी नेपालको सहयोगमा राष्ट्रिय युवा परिषद् तथा राष्ट्रिय युवा सञ्जाल (आयोन)ले आज आयोजना गरेको सो कार्यक्रममा युवा उद्यमीको नेतृत्व विकास, सिर्जनशीलता र सामाजिक उद्यमशीलतालाई प्रोत्साहन गरिने छ ।

Batas

कार्यक्रमले सिर्जनाशीलता र उद्यमशीलतामार्फत दिगो विकासका लक्ष्य प्राप्तीमा योगदान गर्न अभिप्रेरित गर्ने आयोनले जनाएको छ । संवाद कार्यक्रममा सातै प्रदेशबाट चयन भएका ३०० बढी युवा उद्यमी सहभागी भएका छन् ।

कार्यक्रममा प्रत्येक प्रदेशबाट छनोट भएर आएका १० युवा उद्यमीका समूहले आआफ्ना उद्यमका बारेमा प्रस्तुतीकरण दिनेछन् । कार्यक्रममार्फत सबै क्षेत्रका युवालाई नेपालमा सामाजिक उद्यमको अवस्था बुझ्न, सामाजिक उद्यमशीलताका लागि आवश्यक जानकारी प्राप्त गर्न र आफ्नो व्यवसायलाई अझै मजबुत र सामाजिक परिवेश सुहाउँदो बनाउन साझा मञ्च प्रदान गर्ने विश्वास लिइएको छ ।

संवाद कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए । मुलुकको सर्वाङ्गीण विकास र सामाजिक कार्यमा युवा परिचालन हुनुपर्ने उल्लेख गर्दै उनले युवा सशक्तीकरण भएमात्र मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन टेवा पुग्ने बताए ।

“कृषि, निर्माण, उद्योग, व्यवसाय र उद्यमी क्षेत्रमा युवाको आवश्यकता छ”, विकासमा युवाको सहभागिता विश्वासिलो हुनुपर्नेमा जोड दिँदै उनले भने । वर्तमान सरकारले युवा उद्यमशीलता विकास गर्न विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको स्पष्ट पार्र्दै उनले सामाजिक, आर्थिक र सांस्कृतिक पाटोसँग युवालाई जोड्नुपर्ने बताए ।

उनले व्यक्ति र कम्पनीलाई मात्र नभई रोजगारी सिर्जना हुने गरी उद्यमशीलता बढाउन आवश्यक भएको बताए । “उद्यमशीलता सामाजको उत्थान हुनेगरी हुनुपर्छ”, उनले भने, “उद्यमशीलताले समाज बदल्नुपर्छ ।”

आयोन ४४ जिल्लाका ९२ युवा संस्थाका छाता सङ्गठन हो । सन् २००५ मा स्थापना भएको यस संस्थाले युवाको नीति निर्माणमा सहभागिता, युवा पैरवी, क्षमता अभिवृद्धि तथा युवासँग सम्बन्धित अनुसन्धानलगायत कार्य सञ्चालन गर्दै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.