www.tandavnews.com
Fact ~ In search of truth

युवा विदेशिदाँ खेताला अभाव, धान भित्र्याउन समस्या

पर्वत ।

यतिबेला पर्वत जिल्लाका विभिन्न गाउँमा किसानलाई धान काट्ने र थन्क्याउने चटारो छ ।

अन्य काम गर्न त्यति फुर्सद छैन, तर धान काट्न भने सबैलाई भ्याइनभ्याइ छ । रोजगारका लागि युवाहरु विदेशिएपछि पर्वत जिल्लाका गाउँमा कृषि मजदूरको अभावमा किसान समस्यामा परेका छन् ।

जिल्लाको धानको पकेट क्षेत्र मानिने कुश्मा र फलेवास नगरपालिका, जलजला गाउँपालिकालगायतका ठाउँमा कृषि मजदूर नपाउँदा किसान समस्यामा परेका छन् ।

धान पाकेर भूँइमा झर्न थालिसकेपनि खेताला नपाएर धान काट्न नसकिएको कुश्मा नगरपालिका–११ पिपलटारीका रमेश पौडेलले बताए । जनशक्तिको अभाव र भएको जनशतिm पनि धान काट्ने चटारोमै भएका कारण समस्या आएको उनको भनाइ थियो ।

उनी जस्तै कुश्मा नगरपालिका–९ कटुवाचौपारीका माया सापकोटा धान काट्ने खेताला खोज्न गाउँभर तथा छिमेकी गाउँमा पुगेपनि नपाएको गुनासो गरे । युवा सबै विदेशीएपछि गाउँघर सुनसान बन्न थालेको उनको भनाइ थियो ।

‘सबैलाई धान काट्ने चटारो छ, गाउँमा भएका युवायुवती सबै विदेश गए, गाउँमा खेतालाको अभावै भयो’, उनले भने । पहिले अर्मपर्म गरेर नै धान काट्न सकिन्थ्यो तर अहिले त्यो अवस्था छैन ।

उनी जस्तै कुनपा– १२ ठूलीपोखरीका अशोक केसीको पीडा पनि उस्तै छ । गाउँमा युवायुवती भन्दा बुढाबुढी धेरै हुँदा समस्या भएको हो । ‘धान उत्पादन पहिलेको तुलनामा घटेको पनि छ अर्मपर्म गरौँ भने आफ्नैमा धान काट्ने चटारो छ’, केसीले भने, ‘खेताला अभावमा समस्या परेको छ ।’

अहिले गाउँमा एकजना खेतालाको पारिश्रमिक रु पाँच सयदेखि ६०० सम्म छ । पहिले छिमेकी गाविस तथा अर्मपर्म गरेर धान काट्दै आउने गरेता पनि अहिले युवायुवती विदेशीएसँंगै झनै समस्या भएको किसानको भनाइ थियो ।

बजारमा व्यापार, व्यवसाय गर्ने पनि खेतालाको अभावले पसलै बन्द गरेर धान काट्न जानु परेको बताउँछन् । सदरमुकाम कुश्मा बजारमा व्यवसाय गर्दै आएका शिव शर्मा भन्छन्, ‘पसलमा बस्दा त कमाई त हुन्छ नि, तर के गर्नु धान काट्न भ्याइनभ्याइ छ ।’

खेताला नपाएर व्यापारलाई त्यति समय दिन नपाएको उनको गुनासो छ । स्वदेशमा रहेका युवाजनशक्ति शहरमा जागिर खान्छन, जसका कारण खेतीपातीमा समय दिन पाउँदैनन् । घरमा रहेका बुढापाकाले ज्यानमा तागत नहुँदा खेतको काम गर्न नसक्ने उनको भनाइ छ ।

सरकारले देशमा स्वरोजगार कार्यक्रम ल्याए युवा विदेश जाने क्रम घट्ने र खेतालाको अभाव नहुने फलेवास नगरपालिकाका दिनेश लामिछानेले बताए । किसानले आफूले उब्जनी गरेको बालीको मूल्य आफै निर्धारण गर्न नपाउँदा ठगिइरहेको अवस्थामा खेताला नपाउँदा झनै चिन्तित बनेको उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.