www.tandavnews.com
Fact ~ In search of truth

राजश्व छल्ने तीन कम्पनी सञ्चालकविरुद्ध मुद्दा

काठमाडौं ।

राजश्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक तथा सहयोगी विरुद्ध राजश्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले ती कम्पनीबाट झण्डै ३६ करोड २४ लाख बिगो कायम हुने गरी सजायको माग गर्दै मुद्दा दर्ता गरेको छ ।

झुट्टा तथा नक्कली बिजक बिक्री गरी राजश्व छली गर्ने काठमाडौंको एएस हार्डवेयरका सञ्चालक सरला श्रेष्ठसमेत सात, काठमाडौँको बत्तीसपुतलीस्थित रुक्मिणि इण्डस्ट्रिज प्रालिका सञ्चालक र कपिलवस्तुको कृष्ण ट्रेडिङ सप्लायर्सका सञ्चालक तथा सहयोगीविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

विभागले हार्डवेयरसँग २२ करोड २६ लाख ९०० बिगो कायमको माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा, रुक्मिणि इण्डस्ट्रविरुद्ध १२ करोड ४६ लाख बिगो कायम गरी बारा जिल्ला अदालतमा र कृष्ण ट्रेडिङ सप्लायर्सविरुद्ध एक करोड ५२ लाखको बिगो कायमको माग दाबीसहित कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

विभागले बुधबार एक विज्ञप्ति जारी गरी सरला श्रेष्ठको फार्मबाट वस्तु वा सेवा खरीद नै नगरी झुट्टा तथा नक्कली कर बिजक मात्र खरीद बिक्री गरेको देखिएको जनाएको छ ।

सो नक्कली काममा अनङ्गपाल श्रेष्ठ र घनश्याम पोखरेलको प्रत्यक्ष सहभागिता रहेको र किशोरप्रसाद पुडासैनी, चेतना पुडासैनी, उमेशकुमार भट्टराई र शालिकराम गौतम सहयोगी देखिएको अनुसन्धानमा खुलेको छ ।

यस्तै रुक्मिणी इण्डस्ट्रिजले अन्तःशुल्क इजाजतपत्र नलिई वस्तु उत्पादन गरी स्थानीय बजारमा बिक्री वितरण गर्दा असुल गर्नुपर्ने अन्तःशुल्क छली गरेको र सो अन्तःशुल्कमा लाग्ने मूल्य अभिवृद्धिकर असुल नगरी कारोवार गरेको देखिएको विभागले जनाएको छ ।

कृष्ण ट्रेडिङ सप्लायर्समार्फत गोपाल अग्रहरी भनिने मनिष लोहारले कर्मचारी बिक्की भनिने सुनिलकुमार गुप्ताको नाममा गोदाम भाडामा लिई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको विभागले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.