www.tandavnews.com
Fact ~ In search of truth

राती ९ बजेसम्म उडान भर्दै ६ विमानस्थल

 

 

काठमाडौँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रि उडान भइरहेको छ । विगतमा अन्तर्राष्ट्रिय मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिक रात्रि उडान सञ्चालन गरिरहेको छ ।

Batas

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिए। उनका अनुसार क्षेत्रीय हबका रुपमा रहेका विमानस्थल विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान भइरहेको छ । निकट भविष्यमै झापाको चन्द्रगढी र जनकपुरमा रात्रि उडान थालिने उनले बताए।

“विमानस्थलबाट पहिला आन्तरिक उडानमा राति जहाज उड्दैन थिए, ६ बजे नै बन्द भइसक्थे, अहिले जाडो यामदेखि राति दैनिक ९ बजेसम्म उडान भइरहेको छ,” क्षेत्रीले भने । रात्रि उडानका लागि अन्तर्राष्ट्रिय विमानस्थलसहित क्षेत्रीय हब विमानस्थलमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्था गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । रात्रि उडान सञ्चालन गर्नका लागि ‘रनवे लाइट’, टर्मिनल भवनको व्यवस्थापन तथा सुरक्षा व्यवस्थालगायतका काम गरिएको छ ।

यसअघि आन्तरिकतर्फ बिहान ७ देखि साँझ ६ बजेसम्मको उडान तालीका थियो । अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान हुँदै आएको थियो । विमानस्थलका अनुसार रात्रि उडानका लागि गत भदौको दोस्रो साता नै विभिन्न एयरलाइन्सको २५ उडान तालीका स्वीकृत भएको थियोे । बुद्ध एयरलाइन्सको १४, श्रीएयरलाइन्सको चार र यति एयरलाइन्सको सात उडान थिए ।

सरकारले गत जेठ ७ गतेदेखि अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा ल्याएको थियो । आन्तरिक टर्मिनल व्यवस्थापनपछि गत भदौ १६ गतेदेखि आन्तरिक टर्मिनल बिहान ५ बजे खुला गरेसँगै अहिले दैनिक २२ घण्टा विमानस्थल सञ्चालन भइरहेको छ । यसले विमानस्थलको चाप कम गर्न र हवाई आगमनलाई सहज तुल्याएको बताइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.