www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियताको विषयमा देश एक ढिक्का : अध्यक्ष दाहाल

चितवन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन् । नेकपा भरतपुर महानगर वडाकमिटीको आज यहाँ आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सबैको एकमत भएको बताए ।

अध्यक्ष दाहालले भने, ‘जहाँसम्म सीमाको विषय रहेको छ यसमा पहिलोपटक राष्ट्रिय एकता र सहमति भएको छ । यो गर्वको कुरा हो ।’ प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सम्पूर्ण राष्ट्र एक ढिक्का छ भन्ने कुरा देखिएको उनले बताए ।

सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका चिठीपत्र र सुगौली सन्धिपछि छापिएका औपचारिक र वैधानिक नक्शाले लिम्पियाधुरालाई नै महाकाली नदीको मुहान मानेकाले सोहीअनुरुप अघि बढ्नुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले भने, ‘सुगौली सन्धिले महाकाली नदी नै सीमा भनेको छ”, सोही ऐतिहासिक तर्क, तथ्य र दस्तावेजले नेपालको भूमि कति, भारतको कति हो भन्ने कुरा प्रमाणित गरेको छ ।’

उनले सीमा विवादको विषय राष्ट्र र पार्टीका लागि निकै चुनौती बनेर आएको भन्दै शक्तिशाली सरकारले चुनौतीलाई पार गर्दै अघि बढ्ने बताए । अर्को एक प्रसङ्गमा उनले नेकपालाई कमजोर बनाउन प्रतिक्रियावादी र विदेशी शक्ति लागेको भन्दै कमजोर हुन नदिइने बताए । दाहालले भोलि बस्ने पार्टीको बैठकले एकताका बाँकी काम पूरा गर्ने जानकारी दिए ।

यसअघि पराजय भोगेको स्थानामा पनि अब हुने उपनिर्वाचनमा पार्टीका सबै उम्मेदवारले जीत हासिल गर्ने विश्वास उनले व्यक्त गरे । उनले भने, ‘पहिले नजितेको ठाउँमा अहिले जित्ने सम्भावना छ, त्यसका लागि हामी एकताबद्ध भएर रात दिन खट्न पर्यो ।’

कार्यक्रममा प्रदेश नम्बर ३ का सहइञ्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा पार्टीका सबै वडा कमिटीका पदाधिकारी र सदस्यलाई अध्यक्ष दाहालले शपथ गराएका थिए। सो अवसरमा एक हजार ३०० सदस्यले शपथ लिएका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.