www.tandavnews.com
Fact ~ In search of truth

लेन्समा ‘लिटरेचर फेस्टिभल’

पाेखरा । 

पोखरामा नेपाल लिटरेचर फेस्टिभल २०१८ सुरु भएको छ । पिएन क्याम्पसका संस्थापक प्रिन्सिपल जर्ज जोन र एलियम्मा जोनले शनिबार कार्यक्रम उद्घाटन गरेका छन् ।

उद्घाटनका अवसरमा जर्जले पोखरामा सहभागी लेखक एवम् साहित्यकारलाई स्वागत मात्र गरेनन्, उनले सबैको जीवन शुभकर, सन्तोषप्रद एवम् सुखमय होस् भन्ने चाहनासमेत व्यक्त गरे । केरलामा जन्मिएका जोनले कालान्तरमा काठमाडांै हुँदै पोखरा आएर यहाँको शिक्षाको क्षेत्रमा काम गरेको विषय एवम् उनका योगदानबारे कार्यक्रममा चर्चा भयो । उनका विषयमा साहित्यकार सरुभक्त श्रेष्ठले बोलेका थिए ।

Batas

उद्घाटनका अवसरमा आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले फेस्टिभलमा आफूहरु सहभागी हुन पाउँदा खुसी लागेको बताए । साथै आगामी दिनमा पनि यस्तो सहकार्य जारी रहने उनले पप्रतिबद्धतासमेत व्यक्त गरे । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सहभागीलाई स्वागत गरेका थिए । उनले पर्यटकीय नगरी पोखरालाई संस्कृति एवम् साहित्यको समेत सहर रहेको चित्रण गरे ।

उक्त अवसरमा नेपालको पहिलो प्र्रधानन्यायाधीश कार्कीले ‘अन्यायमा महिला’ विषयमा विद्वत्प्रवचन दिएकी थिइन् । त्यसअघि पत्रकार एवम् लेखक हरिबहादुर थापाले कार्कीका विषयमा बोलेका थिए । प्रधानन्यायाधीश हुने बेला धेरैले ‘जस्केलाबाट छिरेको व्यक्ति’का रुपमा चित्रण गरेको र पछि कार्कीले गरेको न्यायसम्पादनले उनलाई एउटा सफल नायक बनाएको थापाले बताए ।

विद्वत्प्रवचन दिँदै कार्कीले हिंसामा परेका महिलाका विषयमा न्यायालयले समेत उचित न्याय दिन नसक्ने अवस्था रहेको धारणा राखिन् । सही न्यायाधीश भएको अवस्थामा मात्र पीडित महिलाले न्याय पाउने उनको भनाइ छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या एवम् ललितपुरमा भएको सामूहिक बलात्कारको विषयमा समेत प्रहरीले सही निर्णय गर्न नसकेकोमा उनले चिन्ता प्रकट गरेकी छन् । त्यसैले प्रहरीले गरेको निर्णयमा चित्त नबुझे न्यायालयले त्यसलाई पुनः अनुसन्धान गर्न दिन सक्ने निर्णय गर्नुपर्नेमा उनले जोड दिइन् ।

२०३५ सालबाट न्याय सेवामा प्रवेश गरेकी उनले त्यसअघि आफू साहित्यकार रहेको बताइन् । त्यसअघि लेखिएका कथा आफूसँग सुरक्षित रहेको पनि उनको भनाइ छ ।

कार्यक्रमको दोस्रो सेसनमा बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पुस्तक ‘हिल्ड’ सार्वजनिक गरियो । पेन्गुइनले प्रकाशन गरेको पुस्तक मनीषाकी आमा सुष्मा कोइराला, अभिनेता राजेश हमाल, फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी र पेन्गुइनका प्रतिनिधि अल्केशले सार्वजनिक गरे । पुस्तक सार्वजनिक भएसँगै अभिनेता हमालले मनीषा कोइरालासँग अन्तरसंवादसमेत गरे । उक्त अवसरमा हमालले मनीषालाई क्यान्सर लागेपछिको अवस्था, पुस्तक लेखन आदि विषयमा रोचक संवाद गरेका थिए ।

कार्यक्रमको तेस्रो सेसनमा ‘अझै रमिता छ’ शीर्षकमा मन्जुश्री थापा र कृष्ण धरावासीसँग केदार शर्माले संवाद गरेका थिए । संवादमा उनीहरुले इन्द्रबहादुर राईको विषयमा मात्र चर्चा गरेनन्, उनले थालेका विभिन्न अभियान एवम् प्रयोगबारे छलफल गरे । आफूलाई प्रगतिशील लेखक बताउने थापाले लामो समय राईलाई पढ्न हिच्किचाएको र पछि पढ्दै जाँदा राईलाई गैरप्रगतिशील असामाजिक लेखकका रुपमा नभेटेको बताइन् । सोही समयमा सरुभक्त, गनेस पौडेल एवम् तीर्थ गुरुङसँग ‘पागल बस्तीपछिको पोखरेली आख्यान’ विषयमा कुमारी लामाले संवाद गरेकी थिइन् । उनीहरुले पछिल्लो समय पोखरेली आख्यानले लिएको बाटो विषयमा मात्र चर्चा गरेनन्, यो क्षेत्रको समग्र साहित्यबारे आआफ्ना धारणा राखे । पागल बस्तीपछि पनि पोखराले थुपै्र उत्तिकै सशक्त पुस्तक जन्माएको उनीहरुको दाबी थियो ।

चौथो सेसनमा निकाला स्ट्रिनसँग कञ्चन बुढाथोकीले ‘द आर्ट अफ दि ग्राफिक मेम्वायर’ बारे संवाद गरेकी थिइन् । साथै सोही समयमा ‘अन्सर्टेन जर्निज’ बुक विमोचन भएको थियो । पुस्तक विमोचनसँगै एज पनिरसल्भान, जनकराज सापकोटा र सब्रिना तोप्पासँग रम्यता लिम्बूले संवाद गरिन् ।
पाँचौं सेसनमा कान्तिपुरका प्र्रधान सम्पादक नारायण वाग्ले र चर्चित स्तम्भकार खगेन्द्र संग्रौलाले ‘सम्पादक र स्तम्भकार’ शीर्षकमा अन्तरसंवाद गरे । उक्त अवसरमा संग्रौलाले स्तम्भकारको भूमिका सरकारको प्रतिपक्षीका रुपमा रहेका धारणा राखे । उनीहरुबीच रोचक घोचपेचसमेत चलेको थियो । सोही समयमा लेखक मोहम्मद हनिफको पुस्तक ‘रेड बड्र्स’का विषयमा कुन्द दीक्षितले संवाद गरे ।

कार्यक्रमको अन्तिम सत्र थियो, ‘ठाडै ठट्टा’ । यो सेसनमा आआफ्नो प्रस्तुति दिए— सीमा गोल्छा, शैली बस्नेत र आयुष श्रेष्ठले ।

तस्विर : माधव भुसाल

 

 

आइतबारका सेसनहरु यसप्रकार छन्

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.