www.tandavnews.com
Fact ~ In search of truth

वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना

काठमाडौं

सरकारले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ ।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने योजनाका साथ प्रर्वद्धनात्मक कामलाई तीव्रता दिएको सरकारले भ्रमण वर्षलाई आगामी दशकको रुपमा मनाउँदै वार्षिक ३५ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आगामी दशकलाई भ्रमण वर्षका रुपमा मनाएर बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने योजनका लागि सरकारलगायत सरोकार भएका निकायसँग छलफल गरी रणनीति तय गरिने जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच समझदारी तथा नवनिर्वाचित समितिलाई बधाई ज्ञापन गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्ष अभियानलाई आउने दशकलाई उत्साहका साथ मनाउन सकेको खण्डमा आगामी १५औँ पञ्चवर्षीय योजनाको समाप्ति हुँदा कम्तिमा पनि ३५ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने सरकारको अपेक्षा रहेको बताए ।

उनले भने, ‘अबको दुई महिनापछि (सन् २०२० लाई) हामीले भ्रमण वर्ष मनाउँदै छौँ, त्यसलाई सफल बनाउन हरतवरले लागि परेका छौँ, तर २०२० मै भ्रमण वर्षको सम्पूर्ण अभियान सकिने हैन, यो त भ्रमण वर्षको थालनी हो । आगामी दशकलाई नै भ्रमण वर्षको दशकको रुपमा मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्यउने योजनाका साथ काम अघि बढाउछौँ ।’

मन्त्री भट्टराईले भ्रमण वर्ष अभियानको तयारीमा सिङ्गो मुलुक जुटिरहेको बताउदै अभियानलाई सफल बनाउन एनआरएनको सक्रिय भूमिकाको खाँचो औंल्याए ।

उनले अथाह पर्यटकीय सम्भावना भएको नेपालमा भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउनु त्यति चुनौतिको विषय नभएपनि विश्वमा नेपालको प्रर्यटनबारे प्रभावकारीरुपमा प्रचारप्रसार हुननसकेका कारण पर्यटकीय लाभ लिन नसकिएको धारणा राखे ।

पर्यटनमन्त्री भट्टराईले मुलुकको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पुर्याउने लक्ष्यका साथ सबैखाले तयारीमा सरकार जुटेको उल्लेख गर्दै पर्यटकीय पूर्वाधार विकास र कनेक्टिभिटिलाई जोड दिइएको बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप न्यूनीकरण गर्न क्षमता विस्तार र सेवा स्तरीकरणको कामलाई प्रभावकारी अघि बढाइएको तथा सन् २०२० को मार्च महिनाबाट निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलाई सञ्चालनमा ल्याइनुका साथै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई तीब्रताका साथ अघि बढाइने उनले बताए ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भ्रमण वर्षलाई प्रभावकारी बनाउदै पूर्वाधार विकासलाई प्राथमिकताकासाथ अघि बढाइएको बताए । मुलुकको पर्यटन प्रर्वद्धनका निम्ति कनेक्टिभिटी महत्वपूर्ण भएकाले हवाई पूर्वाधारका साथै सडक सञ्जाल विस्तारलाई पनि जोड दिइएको उनले बताए ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष अभियान राष्ट्रिय कार्यक्रमका संयोजक सुरज वैद्यले भ्रणण वर्ष अभियानको प्रर्वद्धनात्मक कामलाई थप गति दिएको र अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारको काम शुरु भइसकेको जानकारी दिए ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले नेपालमा अधिक विदेशी पर्यटक भित्र्याउन संस्थाले सद्भावनादूतका रुपमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

नेपालको पर्यटनबारे विदेशमा हुने गरेको नकारात्मक प्रचारप्रसारलाई चिर्दै नेपाल गन्तब्य प्रर्वद्धनात्मकका साथै नेपालको आर्थिक समृद्धिको विकासका निम्ति पनि संस्थाले सक्रिय योगदान गर्ने उनले स्पष्ट पारे ।

भ्रमण वर्ष प्रर्वद्धनका लागि समझदारी

भ्रमण वर्ष अभियानको प्रभावकारी प्रर्वद्धनका लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र गैरआवासीय नेपाली सङ्घबीच नेपालको पर्यटन प्रर्वद्धनसम्बन्धी एक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

सचिवालयकातर्फबाट संयोजक वैद्य र एनआरएनका अध्यक्ष पन्तले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। समझदारी अनुरुप भ्रमण वर्ष २०२० का सन्दर्भमा विश्वभरबाट ‘एक नेपालीले एक विदेशी साथी नेपाल ल्याउने अभियान’ सञ्चालन गर्ने छ ।

उक्त कुराको अभिलेखिकरण सचिवालय र एनआरएनएले गर्ने व्यवस्था मिलाइने जनाइएको छ । सबैभन्दा बढी विदेशी साथी पढाउने व्यक्ति वा संस्थालाई सचिवालयले सम्मान गर्नेछ ।

भ्रमण वर्षअवधिभर एनआरएनका विश्वभरि गरिने औपचारिक सेमिनार, गोष्ठीलगायत कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने, विदेशस्थित नेपाली दूतावास र नियोगमा भ्रमण वर्ष प्रर्वद्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ ।

त्यस्तै एनआरएनएले विश्वभरका कम्तिमा ५० देशका मिस एनआरएनए इन्टरनेश्नल आयोजना गर्ने र उक्त प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा सन् २०२० को जुन महिनाभित्र नेपालमा गर्नेछ ।

भ्रमण वर्षको शुभारम्भ समारोहलाई सफल बनाउन सम्बन्ध्ति देशका कुटनीतिक नियोगसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने, सञ्चारमाध्यममा डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको प्रयोग, वेवसाइटमार्फत भ्रमण वर्षसम्बन्धि सकारात्मक सन्देश दिने सामग्रीको प्रवाह गरिने जनाइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.