www.tandavnews.com
Fact ~ In search of truth

वालिङका २४ ज्येष्ठ नागरिकलाई सम्मान

वालिङ ।

स्याङ्जाको वालिङ नगरपालिका–८ वडा कार्यालयले वडाभित्र रहेका ८४ वर्ष उमेर पुगेका २४ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

शनिबार वडाभित्रका वालिङ बजार, भीमटारी, काफलडाँडा, बोगटीडाँडा, कुमस्वाँरालगायतका स्थानीयवासीको घरघरमै पुगेर सम्मान गर्नुका साथै स्वास्थ्य परीक्षणसमेत गरेको कार्यवाहक वडाध्यक्ष चेतनारायण श्रेष्ठले बताए ।

वडाले ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत यो अभियान सञ्चालन गरेको वडा सचिव प्रेमनारायण सुवेदीले बताए ।

“२४ ज्येष्ठ नागरिकलाई एक किलो हर्लिक्स, फलफूल तथा नगद ५०० प्रदान गरेका हौँ” कार्यवाहक अध्यक्ष श्रेष्ठले भने, “सोही अभियानअन्तर्गत पूर्ण अपाङ्गता भएका नौ जनालाई नगद ५०० रुपैयाँ र फलफूल वितरण गरेका छौँ ।”

ज्येष्ठ नागरिकको सम्मान गर्नु वडाको पहिलो कर्तव्य भएको बताउँदै कार्यवाहक वडाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई नयाँपुस्ताले सिकाइका रूपमा लिनु आवश्यक रहेको बताए ।

वडाभित्र रहेका ज्येष्ठ नागरिकलाई जीवनप्रति सकारात्मक बनाउन उनीहरूमा भएको रोगको पहिचान र निदान गर्ने उद्देश्यले अभियानको रूपमा थालिएको वडा सदस्य एवं कार्यपालिका सदस्य युगमाया पङ्गेनीले बताए ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य परीक्षण गरी उचित परामर्श प्रदान गरिएको वालिङ नगरपालिका स्वास्थ्य शाखाका रामचन्द्र ठाकुरले बताए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.