www.tandavnews.com
Fact ~ In search of truth

विकासका लागी बागलुङमा पर्यटन गुरुयोजना

बागलुङ ।

 

जिल्लाको पर्यटन विकासका लागि गुरुयोजना निर्माणको काम अघि बढाइएको छ ।

बागलुङ पर्यटन विकास समितिले गुरुयोजनाको प्रस्तावपत्र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार पेश गरेको छ ।

Batas

गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्तचित्र (प्रोफाइल) पनि बनाइने समितिका सचिव अर्जुन चोखालले बताए । “गुरुयोजना र वृत्तचित्र दुवैको प्रस्तावपत्र पर्यटनमन्त्री विकास लम्साललाई बुझाएका छौँ”, सचिव चोखालले भने, “बजेटको प्रतिबद्धता आएको छ ।”

गत फागुनमा पर्यटन गुरुयोजनाबारे मन्त्री लम्सालको उपस्थितिमा सरोकार भएका पक्षबीच बागलुङमा बृहत् अन्तरक्रिया भएको थियो । सबैको सुझावका आधारमा प्रस्तावपत्र तयार पारेको समितिले जनाएको छ । आउँदो वर्षभित्र गुरुयोजना तयार हुनेछ ।

“बागलुङको पर्यटन विकासको भावी खाका र योजना गुरुयोजनामा समेटिन्छ”, समितिका अध्यक्ष राजु खड्काले भने, “गुरुयोजनामा टेकेर निजी र सार्वजनिक क्षेत्रले पर्यटनमा काम गर्नेछन् ।”आगामी १५ वर्षसम्मको कार्ययोजना गुरुयोजनाभित्र समेटिनेछ । विज्ञ, पर्यटन व्यवसायी, सरकारी संयन्त्रदेखि सरोकारवालाको सुझावमा गुरुयोजनालाई पूर्णता दिइनेछ । गुरुयोजना तयारीकै लागि समितिले जिल्लाभर रहेका पर्यटकीय गन्तव्यस्थलको वस्तुगत विवरण सङ्कलनको काम शुरु गरेको छ ।

समितिले बागलुङलाई पर्यटकीय जिल्लाका रुपमा घोषणा गर्न पनि पहल थाल्ने बताएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष असारमा समिति गठन भएको थियो । यसअघि एकीकृत ढङ्गले पर्यटनको काम गर्ने संस्थाको अभाव थियो ।

सरकारी निकाय र स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने समितिको तत्कालीन कार्ययोजना छ । समितिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणमा समन्वयकारी भूमिका खेल्नेछ ।पर्यटन विकासको चर्को बहस शुरु भए पनि यतिका वर्षसम्म बागलुङको पर्यटन गुरुयोजनासमेत बन्न सकेको थिएन । गुरुयोजना नुहँदा पर्यटनमा बजेट र कार्यक्रम ल्याउन सहज थिएन ।

“अब पर्यटन गुरुयोजना बन्ने टुङ्गो लागेको छ”, बागलुङका प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ ले भने, “पर्यटन क्षेत्रको दिगो र एकीकृत विकासमा सबै केन्द्रित हुनुपर्छ ।” सङ्घ र प्रदेश दुवै सरकारले बागलुङको पर्यटन क्षेत्रको विकासमा लगानी बढाएका छन् ।

आउँदो आर्थिक वर्षका लागि सङ्घीय सरकारले जिल्लाका धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलको विकासका लागि पाँच करोड बजेट छुट्याएको छ । सरकारले सूचीकृत गरेका एक सय गन्तव्यमा ढोरपाटन, कालिका भगवती मन्दिर, पञ्चकोट, भकुण्डे, गाजा दहलगायत छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.