www.tandavnews.com
Fact ~ In search of truth

विकास र समृद्धिको यात्रा प्रारम्भ :मन्त्री थापा

बेनी ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले सरकारले सङ्घीयता कार्यान्वयनका लागि जग बसाइसकेकाले अब विकास र समृद्धिको यात्रा प्रारम्भ हुने बताएका छन् । पहिलो वर्षमा सङ्घीयताको मर्मअनुसार नीति, नियम र कानून निर्माणमा सरकारको समय व्यतीत भएको उल्लेख गर्दै मन्त्री थापाले अबको यात्रा विकासतर्फ केन्द्रित भएको बताए ।

जिल्ला समन्वय समिति म्याग्दीको विशेष जिल्लासभामा बुधबार उनले एक वर्षको अवधिमा २५ कानून निर्माण भएको जानकारी दिए । उनले २३ विधेयक संसद्मा दर्ता भएको र १६५ पुराना कानूनलाई संशोधनका लागि संसद्मा पेश गरिएको बताए ।

स्थानीय तह बलियो बन्न सकेमा मात्रै जनताका आवश्यकता पूरा हुने बताउँदै उनले जनताका आवश्यकतालाई ध्यानमा राखेर प्रभावकारी योजना छनोट र कार्यान्वयनमा लाग्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गरे । सडक, खानेपानी, भवनलगायत भौतिक पूर्वाधारसँगै महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतले समेत अनुभूति गर्नसक्ने सामाजिक न्यायको क्षेत्रमा समेत ध्यान दिनुपर्ने उनले बताए ।

वर्तमान सरकारले भ्रष्टाचारलाई अन्त्य गर्न पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो । उनले स्थानीय तहले समेत त्यसतर्फ ध्यान दिन आग्रह गर्दै, स्थानीय तह, जिल्ला समन्वय, प्रदेश र सङ्घीय सरकारले सहकार्य गरी विकास निर्माण र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने बताए।

सभामा स्थानीय तहको आव २०७४/७५ को वार्षिक समीक्षा र चालू आर्थिक वर्षको पहिलो चौमासिकको प्रगतिको समीक्षा गरियो । सभामा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिसस सदस्य, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र जिल्लास्थित सरकारी कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.