www.tandavnews.com
Fact ~ In search of truth

विदेशी पर्यटकका उजुरीःचोरी, ठगी, लुटपाट, पाकेटमारदेखि दुव्यर्वहारसम्म

काठमाडौं ।

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुव्यर्वहार लगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् ।

नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीमा विदेशी पर्यटकले उजुरी दिएका हुन् ।

Batas

पर्यटक प्रहरीमा चालू आर्थिक वर्षमा ६०० उजुरी दर्ता भएका हुन् । साउनमा ५०, भदौमा ३५, असोजमा ६५, कात्तिकमा ८०, मङ्सिरमा ५४, पुसमा ५३, माघमा ३७, फागुनमा ३२, चैतमा ५८, वैशाखमा ८२ र जेठमा ५४ उजुरी परेका छन् ।

पर्यटक प्रहरीले पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकबाट आएका उजुरी निवेदन छानबिन र कारवाही गर्ने, इजाजत नभई पथप्रर्दशक कार्य गर्नेमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासमा सम्पर्क राखी स्थानीय प्रहरीमार्फत कारवाही अगाडि बढाउने, होटल, ट्राभल, ट्रेकिङ, र्याफ्टिङ एजेन्सीमा निरीक्षण गर्नेलगायतका काम गर्दै आएको छ ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अमृतबहादुर बस्नेत पर्यटक प्रहरीमा पर्ने उजुरीमध्ये सबैभन्दा धेरै सामान हराएको विषयमा पर्ने गरेको बताउछन् ।

“सामान हराएको मात्र ४५४ उजुरी पर्यटक प्रहरीमा परेको छ”, उनी भन्छन् । पर्यटक प्रहरीमा सामान हराएको बाहेक चोरी ९८, ठगी २४, लुटपाट तीन, पाकेटमार छ, दुव्यर्वहार चार, दुर्घटना एक, क्षति चार र अन्य छ उजुरी दर्ता भएका छन् ।

पर्यटक प्रहरीले हाल काठमाडौँ उपत्यकाभित्र १० र उपत्यका बाहिर १६ स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ । प्रहरी प्रधान कार्यालयमा २२७ को दरबन्दी कायम गरिएको छ । चालू आर्थिक वर्षमा मात्र काठमाडौँको बौद्ध, चितवनको पटिहानी र तनहुँको बन्दीपुरमा कार्यालयले सेवा विस्तार गरेको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटक प्रहरीको आवश्यकता र औचित्य बढ्दै गएको छ ।पर्यटक प्रहरीले पर्यटकलाई आवश्यक पर्ने सेवा प्रदान गर्न रारा ताल, बाँके, कञ्चनपुर, इलाम, धनकुटालगायतका नौ प्रमुख पर्यटकीय गन्तव्यका लागि पर्यटक प्रहरी माग गरिएको पर्यटक प्रहरी प्रमुख बस्नेत बताउछन् ।

पर्यटक प्रहरीले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि ‘पर्यटक प्रहरी मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ ।एप्समा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने काम र गर्न नहुने काम, हटलाइन नम्बर, कुनै घटना घटिहालेमा प्रहरीलाई खबर गर्ने तरिका, पर्यटकका प्रतिक्रिया लेख्न मिल्ने बताइएको छ ।

विदेशबाट आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल भित्रिने भएकाले उक्त पर्यटकलाई लक्षित गरेर ठमेलमा ‘महानगरीय पर्यटक सूचना केन्द्र’ समेत सञ्चालनमा ल्याएको छ ।

उक्त केन्द्र सञ्चालनमा ल्याएसँगै पर्यटक प्रहरीको प्रधान कार्यालय भृकुटीमण्डपबाट दिने सेवा सुविधा ठमेलबाट प्रदान गरिने पर्यटक प्रहरीले जनाएको छ ।

पर्यटक प्रहरी नेपाल प्रहरीको भए पनि उनीहरुको सेवा सुविधा भने पर्यटन विभागमार्फत हुँदै आएको छ ।पर्यटक प्रहरी परिचालन निर्देशिका नहुनु, विभिन्न मुलुकको भाषाको ज्ञान नहुनु, पर्यटक प्रहरीलाई आवश्यक तालीम नहुनुलगायत पर्यटक प्रहरीभित्र समस्याका रुपमा रहेका छन् ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पर्यटक प्रहरीको आवश्यकतालाई हेरेर अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने बताउछन् ।

“नयाँ स्थानमा पर्यटक प्रहरी राख्नका लागि आएका मागलाई अध्ययन गरी नेपाल प्रहरीमा पठाउने र प्रहरीले सदर गरेपछि उक्त ठाउँमा पर्यटक प्रहरी खटाउने गरेका छौँ”, उनी भन्छन् ।

नेपालको पर्यटन विकासमा पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । महानिर्देशक घिमिरे मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने कुरामा विभाग गम्भीर भएर लागेको बताउछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.