www.tandavnews.com
Fact ~ In search of truth

विपन्नको उपचारका लागी प्रवासीको ४० लाख

म्याग्दी ।

जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि प्रवासी नेपालीले ४० लाख रुपैयाँ सहयोग जुटाएका छन् ।

परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको डेढ करोडको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले हङकङमा आयोजना गरेको कार्यक्रममा सो सहयोग जुटेको हो । मोना हङकङको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ११ जनाले दुई लाख सहयोग गरेर संरक्षक सदस्यता लिएको अभियानका लागि हङकङ पुगेका कोषका सचिव लोक पुनमगरले जानकारी दिए ।

संरक्षक सदस्यता लिनेमा मोनाका संस्थापक प्रकाश पुन, मोना हङकङका वरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, निवर्तमान अध्यक्ष इन्द्र थापामगर, अध्यक्ष कर्ण पुन, कोषाध्यक्ष नारायणसिंह पुन, सचिव जेबेन्द्र फगामी, सल्लाहकार राजु गर्बुजा, ज्ञानेन्द्र थापा, पदम शेरचन, गोमा पुन, संरक्षक इञ्जिनीयर हर्कमान मगर र कार्यसमितिका सदस्य लील रोका रहेका छन् ।

सो कार्यक्रममा ३१ लाख ३५ हजार रुपैयाँ जुटेको थियो । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले डेढ करोडदेखि दुई करोड रुपैयाँको अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट विपन्न म्याग्देलीलाई औषधोपचारका लागि सहयोग गरिने बताए । कोषले विभिन्न अभियान सञ्चालन गरेर हालसम्म जटिल रोगबाट थलिएका १०१ म्याग्देलीको उपचारका लागि एक करोड ८२ लाख सहयोग जुटाएको छ । हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा–४ की ओमकुमारी पुनको स्मृतिमा चार वर्षअघि कोष स्थापना गरिएको थियो ।

शान्तिको उपचारको क्रममा सञ्चालित अभियानबाट बचत भएको १३ लाख ७८ हजारबाट शुरु भएको कोषमा यसअघि स्वदेश तथा विदेशबाट ६२ लाख रुपैयाँ सङ्कलन भएको छ । मुटु, मिर्गौला, क्यान्सरलगायत जटिल रोगबाट थलिएका म्याग्देलीलाई सघाउन डेढ करोडको अक्षयकोष स्थापना गर्ने उद्देश्यले तीन वर्षयता सहयोग सङ्कलन अभियान सञ्चालन गरिँदै आएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.