www.tandavnews.com
Fact ~ In search of truth

सत्यमोहन जोशीको चित्र अंकित सिक्का, एउटै सिक्का १००० र २५०० रुपैयाँको !

पोखरा ।
वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको चित्र अंकित तीन वटा सिक्का निष्काशन भएको छ ।
शताब्दी पुरुष जोशी सय वर्ष पुगेको अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागले टकमरी गरिएका सिक्का निष्काशन गरेको हो । वि सं १९७७ वैशाख ३० गते तिथि अनुसार बैशाख कृष्ण नवमीका दिन ललितपुरको बखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा उनको जन्म भएको हो ।
ललितपुर महानगरपालिकाले आग्रहमा राष्ट्र बंैकले क्युप्रोनिकेल धातुबाट बनेको रु १०० दरका (तौल २५ ग्राम, व्यास ३७ एम.एम, निष्काशन संख्या १० हजार थान) र चाँदीबाट बनेका रु १००० (तौल १० ग्राम, व्यास २९ एम.एम, निष्काशन संख्या २५ हजार थान) र २५०० रुपैयाँको सिक्का (तौल ८ दशमलब ५ ग्राम, व्यास २९ एम.एम, निष्काशन संख्या १० हजार थान) निष्काशन गरेको थियो ।
राजा, राजपरिवारका सदस्य बाहेक जिवित हुँदा नै आफ्नो चित्र अंकित सिक्का निष्काशन गर्न पाउने वाङमय शताब्दी पुरुष जोशी पहिलो व्यक्ति हुन । राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख वरिष्ठ कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाका अनुसार दोस्रो जनआन्दोलन भन्दा अघि जिवित छँदा राजा र राजपरिवारका सदस्यहरुको मात्र टकमरी गरिएका सिक्का निष्काशन हुने गर्दथ्यो ।

‘जोशी जिवित हुँदा नै राष्ट्र बैंकले यसरी सम्मान गर्न पाउनु नेपाल र नेपालीको लागि गौरवको विषय हो,’ प्रवक्ता समेत रहनुभएका निरौलाले भने, ‘सिक्का निष्काशनले जोशीको योगदानलाई अविस्मरणीय बनाउने छ ।’ टक्सारले नेपालका ऐतिहासिक अवसर एवंम सामाजिक र सांस्कृतिक निधिहरुलाई अविस्मरणीय बनाउनका लागि स्मारिका सिक्काहरु निष्काशन गर्दै आएको छ ।
बैंकका प्रवक्ता निरौलाका अनुसार यस अघि नेपाल अधिराज्यको संविधान –२०४७ र नेपालको संविधान – २०७२ जारी भएको अवसरमा स्मारिका सिक्का जारी गरिएको थियो । त्यसैगरी गौतम बुद्ध, आदिकवि भानुभक्त आचार्य, सर्वमान्य नेता गणेशमान सिंहको स्मृतिमा उहाँहरुको चित्र अंकित टकमरी गरिएका सिक्का जारी गरिएको थियो । त्यस्तै वन्यजन्तु अंकित स्मारिका सिक्का पनि निष्काशन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
अर्थमन्त्रीद्वारा सिक्का अनावरण
यसैबीच महानगरपालिकाले मंगलबार एक समारोहको आयोजना गरी सिक्काको अनावरण गरियो । सिक्का अनावरण गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले कुनै पनि सम्पदा सय वर्ष पुगेपछि पुरातात्विक सम्पदाको रुपमा लिईने नियम अनुसार जोशी आफै्र जिवित सम्पदा रहेको धारणा राखे । ‘जोशी स्वयंमा जिवित धरोहर हुनुहुन्छ । उहाँको चित्र अंकित सिक्का निष्काशनबाट जोशीको योगदान सम्मान गरेको हो ।यो हाम्रँो लागि गौरवको विषय हो,’ अर्थमन्त्री डा खतिवडाले भने ।
जोशीको योगदानलाई कदर गरेर सिक्का निष्काशन गर्न पाउनु सरकारको लागि पनि गौरवको विषय रहेको पनि अर्थमन्त्री खतिवडाको भनाई रहेको छ । सो अवसरमा ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले राष्ट्रियताको भावना बढाउन संस्कृतिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै संस्कृति मार्फत सिंगो राष्ट्रलाई जोड्न जोशीले महत्वपूर्ण योगदान पु¥याउनुभएको विचार व्यक्त गरे ।

सो अवसरमा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जोशीको सम्मानबाट जिवित छँदा नै व्यक्तित्वको योगदान कदर गर्न संस्कार बसाउन प्रयास गरेको बताए । जोशी सय वर्ष पुगेको अवसरमा वर्षभरि विविध कार्यक्रम आयोजना गरी मनाउने कार्यक्रम अनुसार सिक्का निष्काशन भएको सत्यमोहन जोशी मूल समारोह समिति कार्यसम्पादन समितिका संयोजक श्रीगोपाल महर्जनले बताए । उपप्रमुख गीता सत्यालले जोशीलाई सम्मान गर्न पाउँदा सबैमा गौरवको सञ्चार भएको धारणा राखे ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.