www.tandavnews.com
Fact ~ In search of truth

श्रीस्वस्थानी व्रत सम्पन्न

काठमाडौँ ।

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मङ्गलबार माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक सम्पन्न भएको छ ।

एक महीना व्रत बस्नेले प्रत्येक दिन नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासमा एक महीना लामो र कठिन यो व्रत रात्रिको जाग्रामसँगै समापन भएको छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत बस्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा कथा प्रचलित हुँदै आएको मानिन्छ ।

मङ्गलबार व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारीलगायतका सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायतका सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने, मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने तथा बाँकी व्रतालु स्वयंले खाने चलन छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शाली नदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लागेको थियो । एकतीस अध्याय रहेको यस कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने एवं मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यको पराजयबाट पनि चित्रण गरिएको छ ।

स्थानीय भक्तजनका अनुसार परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महीनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए । सो मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीनामात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन छ ।

स्कन्दपुराणको केदार खण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघ मेलामा समयका प्रभावले पानी शुद्ध र स्वच्छ हुने उल्लेख गरिएकाले यस अवधिमा पनि सात्विक भोजनका साथ बिहान स्नान गरी श्रीस्वस्थानीको पूजापाठ गर्नाले इच्छाएको फल मिल्ने उल्लेख छ । रासस

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.