www.tandavnews.com
Fact ~ In search of truth

संशोधन हुँदै सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति

काठमाडौँ ।

सत्र वर्ष पुरानो राष्ट्रिय यातायात नीति संशोधन हुने भएको छ । भौतिक योजना तथा यातायात मन्त्रालयले राष्ट्रिय यातायात नीति, २०५८ को संशोधनको तयारी भइरहेको छ ।

नीति पुरानो र समयानुकूल नभएकाले संशोधन गर्न लागिएको मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाले बताए । उनका अनुसार त्यति बेलाभन्दा अहिले यातायातका क्षेत्रमा धेरै खालका परिवर्तन आए पनि ती परिवर्तनलाई नीतिले समेटेको छैन । पहिले यातायात भन्नाले सडक यातायात मात्रै भएकाले अहिले जल यातायात र रेल यातायातलाई समेटिने गरी संशोधनको तयारी भइरहेको छ ।

सार्वजनिक यातायात व्यवस्थापनका विषयमा समेत नीतिले समेट्ने सापकोटाले बताए । उनले भने, “नयाँ नीतिले सबै यातायात र त्यसका व्यवस्थापनमा कुन सरकारको भूमिका के हुनेछ भन्ने प्रष्ट पार्नेछ ।”नेपालमा रेल यातायातको विस्तार र जल यातायातको शुरुआत गर्नका लागि नीति संशोधन महत्वपूर्ण हुने छ । मन्त्रालयले अहिले सडक र यातायातसँग सम्बन्धित तीन ऐन संशोधनको समेत तयारी गरिहेको सापकोटाले बताए ।

सार्वजनिक सडक ऐन, २०३१, यातायात व्यवस्था ऐन, २०४९ र सडक बोर्ड ऐन, २०५८ संशोधनको क्रममा रहेको उनले जानकारी दिए । सापकोटाले भने, “नयाँ संरचनाअनुसार यातायात सेवा सञ्चालन र व्यवस्थापनका लागि नयाँ बन्ने व्यवस्थाले सहयोग गर्नेछ ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.