www.tandavnews.com
Fact ~ In search of truth

सडक पूर्वाधारसँगै विकासको बाटो खोतल्दै मादी गाउँपालिका

पोखरा

वासुदेव पौडेल (रासस)

नयाँ संघीय संरचनाअनुसार नवनिर्वाचित जनप्रतिनिधिले यतिखेर गाउँपालिकाको सेवा केन्द्रसंग जोड्न सडकको स्तरोन्नतिलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

Batas

आवश्यक पूर्वाधार बिना नै ठूलो क्षेत्रफल समेट्ने गरी बनाइएका संरचनाका कारण सर्वसाधारणले प्राप्त गर्ने सेवा प्रवाहलाई सहज बनाउन गाउँपालिकाका जनप्रतिनिधिले सडकको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा पारेका हुन् ।

गाउँपालिकाको समृद्धि र विकासका लागि गाउँपालिकाको सेवा केन्द्रसम्म सडक सञ्जालमार्फत जोडिनु अपरिहार्य भएकाले निर्वाचित भएसँगै सडक सञ्जालको स्तरोन्नति एवं विस्तारलाई आफूले प्राथमिकतामा राखेको गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङले बताउनुभयो ।

“जनतालाई सहजरुपमा आवतजावत गराउनुका साथै विकासका मार्ग खोल्न सडक सञ्जाल जोडिनु अपरिहार्य छ,” उहाँले भन्नुभयो, “सडकको आवश्यकतालाई दृष्टिगत गरी गाउँपालिकाले चालू आर्थिक वर्षमा यसको स्तरोन्नति र विकासका लागि रु छ करोड १० लाख विनियोजन गरिएकोे छ ।”

उहाँका अनुसार चालू आवमा पोखराबाट भैंसे हुँदै याङजाकोट जाने बाटोको स्तरोन्नतिका लागि रु एक करोड विनियोजन गरिएको छ । त्यस्तै पोखरा–सिक्लेस र राखी–मिजुरे सडकका लागि रु एक÷एक करोड विनियोजन गरिएकोे छ भने पोखरा–ताङतिङ र भगवतीटार–हाँडीखोला सडककका लागि रु ५०÷५० लाख विनियोजन गरिएको छ ।

चालू आवका लागि भगवतीटार–सैमराङ र थुम्सीकोट–भाचोकका लागि रु ४०÷४० लाख विनियोजन गरिएको छ । गाउँपालिकाभित्र अझै पनि धेरै ठाउँमा सडक सञ्जाल नजोडिएका कारण विभिन्न १२ वटाभन्दा बढी प्रत्येक सडकका लागि रु १०÷१० लाख विनियोजन गरी नयाँ ट्रयाक खोल्ने तयारी गरिएको अध्यक्ष गुरुङले बताउनुभयो ।

“सडक सञ्जालको विस्तारका साथै यस क्षेत्रको पर्यटककीय विकासका लागि गाउँपालिकाले गुरुयोजना तयार काम अघि बढाउने भएको छ ,” उहाँले भन्नुभयो, “शिक्षा स्वास्थ्यका साथै अन्य सामाजिक विकाससँग सरोकार राख्ने क्षेत्रका लागि पनि प्राथमिकता दिएर अघि बढेका छौँ ।”

पर्यटकीय स्थल र जलस्रोत यस गाउँपालिकाको समृद्धि र विकासका लागि महत्वपूर्ण माध्यम भएको छ । सिक्लेस, ताङतिङ, याङजाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायत गाउँ यहाँका पर्यटक लोभ्याउने गाउँ हुन् भने तमुहरूको उद्गमस्थल क्होलासोंथर, दूधपोखरीजस्ता स्थल यही गाउँपालिकामा पर्दछन् ।

पदयात्रा पर्यटनका क्षेत्रमा पनि सिक्लेसदेखि मनाङसम्म र लमजुङ, नागिधार, भाचोक, वारचोक, याङजाकोट, ताङतिङदेखि सिक्लेससम्मको पदयात्रा मार्ग यहाँको अर्को महत्वपूर्ण पर्यटकीय आकर्षण हो । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको कफुचे हिमताल यही गाउँपालिकामा पर्दछ ।

गाउँपालिकाको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी गुरुयोजना तयार गर्न लागिएको बताउँदै अध्यक्ष गुरुङले हालका लागि पर्यटन प्रवद्र्धनात्मक कार्यक्रमका लागि रु १० लाख विनियोजन गरेको बताउनुभयो ।

मादीका सबै वडा भएर बग्ने मादी नदी जलविद्युत् उत्पादनका दृष्टिले महत्वपूर्ण नदी भएका कारण यसको कसरी भरपुर उपयोग गर्न सकिन्छ भन्नेतर्फ आफूहरू केन्द्रित बनेको गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया आचार्य (पौडेल)ले बताउनुभयो ।

गाउँपालिको समग्र विकासका लागि चालू आवमा रु ३७ करोड ९१ लाख विनियोजन गरी त्यसलाई विभिन्न शीर्षकमा छुट्याइएको र घरवास पर्यटनको विकास पनि गाउँपालिकाको प्राथमिकतामा परेको उहाँले जानकारी दिनुभयो ।

पर्यावरणीय दृष्टिले पनि मादी गाउँपालिका महत्वपूर्ण स्थल भएको स्थानीय युवा एवं सिक्लेस युवा क्लबका सल्लाहकार देवीजंग गुरुङले बताउनुभयो । “पर्यटन, जलस्रोतका साथै यहाँका प्राकृतिक साधन स्रोत आर्थिक समृद्धि र विकासका आधार हुन्,” उहाँले भन्नुभयो, “यस क्षेत्रका जंगलमा पाइने दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुनजस्ता जडीबुटीका साथै टुसाको उपयोग पनि आयआर्जनको महत्वपूर्ण माध्यम बन्ने देखिन्छ ।”

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.