www.tandavnews.com
Fact ~ In search of truth

समृद्ध नेपालको सङ्कल्प पूरा गर्न प्रतिबद्ध छौँ : मुख्मन्त्री पौडेल

हेटौँडा ।

प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले प्रदेश ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको आजको दिन चौथो संविधान दिवसका अवसरमा एक सन्देश दिँदै मुख्मन्त्री पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति एवम् समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

“आजको दिनसम्म आइपुग्दा यो देशको परिवर्तनका लागि थुप्रै योद्धाले आफ्नो अमूल्य जीवनको बलिदानी दिनुभएको छ । संविधान दिवसका अवसरमा परिवर्तनको पक्षमा भएका अनेकन आन्दोलनमा शहादत प्राप्त गर्नुभएका महान् शहीदप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु । घाइते तथा अशक्त योद्धाप्रति सम्मान व्यक्त गर्दछु”, शुभकामना सन्देशमा भनिएको छ ।

नेपाली जनताको सदियौँ लामो बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त संविधानसभामार्फत निर्माण भएको संविधान कार्यान्वयनको चरणमा छ । यस क्रममा तीनै तहको निर्वाचन सम्पन्न भई जननिर्र्वाचित प्रतिनिधिमार्फत शासन व्यवस्था सञ्चालन भइरहेको छ ।

नागरिक अधिकार र राजनीतिक परिवर्तनका मुद्दालाई संविधानमा लिपिबद्ध गरेपश्चात् तीनै तहको सरकार जनअपेक्षा पूरा गर्ने अभिभारा पूरा गर्न क्रियाशील रहेको मुख्यमन्त्री पौडेलद्वारा सन्देशमा उल्लेख छ ।

उनले सन्देशमार्फत जनतालाई व्यवस्था परिवर्तन भएको अनुभूति दिनका लागि जनताको अवस्था बदल्नुपर्ने र तदनुरुपका योजना तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन् । यसका लागि प्रदेश सरकार इमान्दारिताका साथ लागिपरेको र आफ्ना नीति तथा कार्यक्रम सोही दिशामा केन्द्रित भएको उनले उल्लेख गरेका छन् ।

“सङ्घीयता हाम्रो लागि नयाँ अभ्यास हो । यस क्रममा सीमित स्रोत र साधनबीच आरम्भ भएको हाम्रो यात्रा केही अगाडि बढेको छ । वर्तमान संविधानले हाम्रो बाटो र गन्तव्य प्रस्ट पारेको छ । विकास र समृद्धि नै अहिले हाम्रो प्रमुख कार्यभार बनेको छ ।

प्रदेश नं ३ सरकार सङ्घीयता कार्यान्वयनका चुनौती पन्छाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणको सङ्कल्प पूरा गर्न प्रतिबद्ध छ । यसका लागि हामी सबैको दृढ प्रतिबद्धता, इमान्दार प्रयास र मिहिनेतको आवश्यकता छ । संविधान दिवसले हामीलाई यो लक्ष्य पूरा गर्न थप प्रेरणा दिने विश्वास छ” मुख्यमन्त्री पौडेलको शुभकामना सन्देशमा उल्लेख छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.