www.tandavnews.com
Fact ~ In search of truth

सरकार उदासीन :सचेतक खाँण

जनकपुर ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सङ्घीय लोकतान्त्रिक पद्धतिलाई सबल बनाउने सन्दर्भमा उदासीन रहेको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन धनुषा शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रमुख सचेतक खाँणले सरकार जनताको पक्षभन्दा पनि केन्द्रमुखी भएको आरोप लगाए। देशमा दुई तिहाइको सरकार भए पनि आम जनताको रक्षा, विकास र शासन व्यवस्था अन्योल अवस्थामा रहेको प्रसङ्ग उनले उल्लेख गरे ।

एक प्रसङ्गमा प्रमुख सचेतक खाँणले वर्तमान नेकपाको सरकारले छिमेकी राष्ट्र चीनको जस्तो शासन ल्याउन खोज्नु नेपालको संविधानको बर्खिलाप भएको बताए । नेपालको राज्य प्रणालीमा चीनको शासन शैली आत्मसात गर्न खोज्ने क्रियाकलापप्रति नेपाली काँग्रेसको आपत्ति छ भन्दै उनले सरकारको यो क्रियाकलाप लोकतन्त्र र सङ्घीयतामाथि प्रहार भएको बताए ।

उनले सङ्घीय लोकतन्त्रको आधारशिलामा बनेको सरकारले संविधान प्रतिकूल हुने विधेयक संसद्मा प्रस्तुत गरी स्वतन्त्र पे्रस, मानवाधिकार, सुरक्षा परिषद्, नागरिकको सम्पत्तिमाथिको अधिकार हनन हुने कुचेष्टा गरिरहेको चर्चा गरे । नेपाली काँग्रेसले संविधानको प्रतिकूल हुने कुनै पनि विधेयक अगाडि बढ्न दिँदैन भन्दै उनले सरकारले एकल किसिमले सञ्चालन गर्न ऐन कानूनमा छिद्र पार्न खोज्नु देशका लागि घातक रहेको बताए ।

संविधानको स्वामित्व ग्रहण हुने गरी संविधान परिमार्जन हुनै पर्दछ भन्दै उनले मधेशवासीलगायत अन्य समुदायले पनि हामी सबैको संविधान हो भन्ने स्वामित्व लिने किसिमले परिमार्जन हुनुपर्ने धारणा राखे । एक प्रसङ्गमा सरकारको नेतृत्वकर्ताको शैली जङ्गबहादुर राणा र ज्ञानेन्द्र शाहभन्दा पृथक नरहेको टिप्पणी गर्दै सरकारद्वारा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्नु निन्दनीय रहेको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.