www.tandavnews.com
Fact ~ In search of truth

सवारी चालकहरुलाई सवारी पूर्जाबारे पढाउँदै पर्वत ट्राफिक

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

सवारी दूर्घटना न्यूनिकरणको लागि बिभिन्न अभ्यास गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले अब भने सवारीका चालकहरुलाई सवारीका पार्टस र तिनले गर्ने कामका बारेमा पनि पढाउन शुरु गरेको छ ।

चालहरुलाई पार्टसले गर्ने कामको बारेमा थाहा नहुँदा यात्राको क्रममा बिभिन्न समस्या आउँदा समाधान नहुने र दुर्घटनाको जोखिम रहने भन्दै चालकहरुलाई सडकमै सवारीका पार्टसको बारेमा सिकाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए । ‘सवारी चालकहरुलाई नै सवारीको पार्टसका बारेमा थाहा हुँदैन भने त्यो दुर्घटनाको उच्च जोखिम हो ।’ गौलीले भने, ‘चेकजाँचका क्रममा झण्डै आधाजसो चालकहरुलाई सवारीको कुन पुर्जाले के काम गर्छ ? भन्ने नै थाहा नभएको पाईएपछि हामीले यो अभियान थालेका हौँ ।’

सवारी चालकहरुलाई पार्टसको बारेमा जानकारी दिनको लागि ट्राफिक प्रहरीसंगै सवारी साधनका प्राबिधिकहरु पनि खटीएका छन् । टोलीले पोखरा बागलुङ लोकमार्ग तथा जिल्लाका बिभिन्न ग्रामिण क्षेत्रमा आवतजावत गर्ने सवारीहरुलाई सड्कमै रोकेर सवारीको अवस्थाको बारेमा जाँच गर्छ । त्यही क्रममा सवारी चालकहरुलाई सवारीका बिभिन्न पार्टसहरु देखाउन र छुन लगाईन्छ, थाहा भएको भए गन्तब्यमा पठाईन्छ, थाहा नभए केही समय त्यहीँ राखेर प्राबिधिकहरुले पार्टसहरु चिनाउँदै तिनले गर्ने काम र तिनमा समस्या आएमा तत्कालै समाधान गर्न सवारी चालकले के गर्न सक्छ? भन्ने बिषयमा जानकारी गराउँछन् ।

पर्वत ट्राफिकले सडक दुर्घटना न्यनीकरणका लागि पछिल्ला बिभिन्न रचनात्मक कामहरु गर्दै आएको छ । सवारी चेकजाँचका क्रममा सवारी र चालकका कागजपत्र मात्रै जाँच गर्दै आएको पर्वत ट्राफिकले अहिले भने कागजपत्रसंगसंगै सवारी साधनहरुको अवस्थाका बारेमा पनि जाँच गरिरहेको छ । चेकजाँचका क्रममा सवारीको अवस्थामा कुनै समस्या देखिएमा यात्रीहरुलाई अरु नै सवारीमा गन्तब्यमा पठाएर समस्या भएको सवारीलाई ग्यारेजमा मर्मत गर्न लगाएर मात्र छाड्ने गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.