www.tandavnews.com
Fact ~ In search of truth

सहकारीबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला

गलेश्वर ।

म्याग्दीका अधिकांश महिला सहकारीका कारण आत्मनिर्भर बन्दै गएका छन् । गाउँगाउँमा खुलेका विभिन्न सहकारीबाट ऋण लिएर उनीहरुले आयआर्जनका काम गर्न थालेपछि उनीहरु आत्मनिर्भर बन्दै गएका हुन् ।

सहकारीले दिने सानो रकमबाट विभिन्न किसिमका व्यवसाय गरेर म्याग्दीका महिला सक्षम बन्दै गएका जनचेतना महिला सहकारी संस्थाका अध्यक्ष देवीकुमारी घिमिरेले बताए । विशेषगरी व्यावसायिक बाख्रापालन, तरकारी खेती, किराना पसल तथा अन्य आयआर्जनमूलक व्यवसाय गरेर आत्मनिर्भर बन्दै गएको व्यवसायमा संलग्न महिलाले बताएका छन् ।

विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले महिला स्वावलम्बन लक्षित विभिन्न कार्यक्रमहरु गाउँगाउँमा पुगेर गर्न थालेपछि विगत पाँच वर्षको तुलनामा अहिले महिलाको अवस्थामा निकै परिवर्तन आएको महारानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिनाथ सापकोटाले बताए ।

जिल्लाका ज्यामरुककोट, रत्नेचौर, वावियाचौर, अर्मन, हिस्तान, राम्चे, शिखलगायतका गाउँमा सहकारी र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा महिलाले उल्लेख्य प्रगति गर्न सफल भएका छन् । सिर्जनशील महिला समूहमा आबद्ध रोहोटेकी निर्मला शर्माले सहकारीबाट लिएको सानो रकमले गाउँमा तरकारी खेती र किराना पसल सञ्चालन गरेका छन् ।

अहिले तरकारी खेतीबाट मासिक आठ हजार र किराना पसलबाट मासिक १२ हजारसम्म आम्दानी हुने गरेको बताउने शर्माले छ जनाको परिवार चलाउनुका साथै आफूले ल्याएको ऋण तिरेर विभिन्न बैंक तथा वित्तीय संस्थामा बचतसमेत गरेको बताए ।

त्यसैगरी अर्मनकी रेनु कँडेलले पनि स्थानीय महिला समूहबाट २२ हजार ऋण लिएर छ वर्षअघिदेखि बाख्रा र कुखुरापालनका साथै तरकारी खेती पनि गरेकि छिन् । व्यवसायबाट आफू आर्थिकरूपमा बलियो बन्दै गएको कँडेलले बताए । पहिला बिहानबेलुकाको गर्जो टार्न पनि मुस्किल पर्ने कँडेललाई अहिले भने जीवन सहज लाग्न थालेको छ ।

बाख्रा, कुखुरा र तरकारी बिक्री गरेर मासिक २० हजारको हाराहारीमा कमाइ गर्ने कँडेलले सोही रकमबाट गाउँमा जग्गासमेत जोडेको बताए । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.