www.tandavnews.com
Fact ~ In search of truth

सागका लागि आर्चरी खेलाडी छनोट शुरु

पोखरा ।

आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा शुरु भएको छ ।

पोखरा रङ्गशालाको आर्चरी मैदानमा शनिबारदेखि ‘रिकर्भ’ ‘क्याटेगोरी’ का लागि खेलाडी छनोट प्रक्रिया शुरु गरिएको नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङले बताए । आर्चरीको रिकर्भ र ‘कम्पाउन्ड’ गरी दुई क्याटेगोरीमा प्रतिस्पर्धा हुने भएकाले आगामी भदौ ३० गतेसम्म खेलाडी छनोट गरिसकिने उनले जानकारी दिए ।

रिकर्भका लागि १७ पुरुष र ११ महिलामध्येबाट सागका लागि चार पुरुष र चार महिला छनोट गरी आगामी असोज १ गतेबाट पोखरामै बन्द प्रशिक्षण शुरु गरिने अध्यक्ष गुरुङको भनाइ छ । सागको आर्चरीको प्रतिस्पर्धा पोखरामा सञ्चालन गर्ने निश्चित भइसकेको छ ।

कम्पाउण्डतर्फ भने यसअघिनै चार पुरुष र चार महिला खेलाडी छनोट गरिसकिएको सङ्घले जनाएको छ । पुरुषतर्फ रमेश भट्टचन, सनातन मल्ल, योगेन्द्र शेरचन र मीनप्रसाद गौचन छन् । महिलातर्फ पार्सदा आचार्य, मोनिका राना, रश्मी दर्लामी र मञ्जु बजगाई अन्तिम सूचीमा परेका छन् ।

सागको आर्चरीतर्फ १० स्वर्ण, १० रजत र १० काश्य पदका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने नेपाल आर्चरी सङ्घका वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए ।

रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्टमा पदका लागि प्रतिस्पर्धा हुने थकालीले जानकारी दिए । श्रीलङ्काको कोलम्बोमा सम्पन्न भएको सागको १०औँ संस्करणबाट आर्चरी खेल प्रतियोगितामा समावेश गरिएको थियो ।

नेपालले ११औँ र १२औँ सागमा पुरुष व्यक्तिगततर्फ काश्य पदक जितेको र आफ्नै घरेलु मैदानमा प्रतियोगिता आयोजना गरिएकाले स्वर्ण पदक जित्ने गरी तयारी गरिएको अध्यक्ष गुरुङले बताए । महिला व्यक्तिगतमा स्वर्ण तथा पुरुष समूह र व्यक्तिगतमा समेत पदक आउने सम्भावना रहेको उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.