www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक सञ्जाल प्रयोगमा पत्रकारलाई आचारसंहिता

 

दमौली ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सामाजिक सञ्जाल प्रयोग गर्दा पत्रकारले अपनाउनुपर्ने आचारसंहिता बनाउन लागिएको बताएका छन् ।

प्रेस काउन्सिल नेपालको आयोजना र महासङ्घ तनहुँको संयोजनमा आज दमौलीमा आयोजित तनहुँका सञ्चारमाध्यमका समस्या र पत्रकार आचारसंहिता विषयक मिडिया संवादमा बोल्दै आचार्यले पत्रकार जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

पत्रकारले सामाजिक सञ्जालमा आचारसंहिता विपरीतका सामग्री प्रकाशन÷प्रशारण गरेको पाइएकाले त्यसलाई नियन्त्रण गर्न आचारसंहिता बनाउन आवश्यक रहेको उनले बताए। “आचारसंहिता बनाउन महासङ्घका पूर्वअध्यक्ष र विज्ञलाई मस्यौदा दिने तयारी गरेका छौँ, आगामी साधारणसभासम्म यसको टुङ्गो लाग्छ,” उनले भने।

उनले पत्रकारिता क्षेत्र समाजको मार्गदर्शन भएकाले पत्रकार बढी जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरे । पत्रकारले प्रकाशन÷प्रशारण गर्ने सामग्री आचारसंहिताबमोजिम हुनुपर्ने र त्यसो नभए आचारसंहिता उल्लङ्घनमा कारवाही हुने समेत उनको भनाइ थियो । उनले भने, “पत्रकारिता पेशामा क्रियाशील नरहेका महासङ्घका सदस्यलाई बिदाइ गर्ने निर्णय भएको छ, यसलाई कार्यान्वयन गर्छौं”, उनले भने ।

मिडिया दर्ता, वर्गीकरण स्थानीय तहबाट हुनुपर्ने महासङ्घको धारणा रहेको चर्चा गर्दै उनले सङ्घीयताको अनुभव सञ्चारमाध्यममा समेत हुनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका सदस्य खिलबहादुर भण्डारीले पत्रकारले आचारसंहिताको परिधिभित्र रहेर सामग्री प्रकाशन÷प्रशारण गर्नुपर्ने बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सञ्चारमाध्यमको प्रवद्धर्न का लागि स्थानीय तह प्रतिबद्ध रहेको बताए । पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष विश्वबन्धु भण्डारी, प्रदीप काफ्ले, डम्बर अधिकारी, उपाध्यक्ष नारायण खड्का, सचिव उज्वल पौडेललगायतले सञ्चारमाध्यमलाई उद्योगको रुपमा मान्यता दिनुपर्ने माग गरे । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.