www.tandavnews.com
Fact ~ In search of truth

सिकारु चालकले चलाउँदा दुर्घटना

बागलुङ ।
चार जनाको ज्यान जाने गरी जैमिनी नगरपालिका–८ छिस्तीमा मङ्गलबार साँझ भएको जिप दुर्घटना लापरवाहीका कारण भएको पाइएको छ । ध१ज ७९१ नंको जिप छिस्तीको रापुङबाट नेपाने हुँदै केवै जाने क्रममा दुर्घटनामा परेको थियो । अत्यधिक भार, सिकारु चालक र स्तरहीन सडकका कारण जिप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

“चालकको गम्भीर लापरवाही देखिन्छ”, बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले भने, “घटनाबारे थप अनुसन्धान चलिरहेको छ ।” उनका अनुसार चालक १८ वर्षीय प्रवीण पुनसँग चालक अनुमतिपत्रसमेत नभएको बुझिएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालक पुन प्रहरी नियन्त्रणमा छन् ।

जिपमा स्थानीय जनकल्याण माविको वार्षिकोत्सवमा भाग लिएर घर फर्कँदै गरेका विद्यार्थी, अभिभावक सवार थिए । २० यात्रु बोकेको जिप सडकदेखि करीब ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ । “ठूलो भीरमा दुर्घटना भएको छ”, प्रहरी उपरीक्षक रेग्मीले भने, “अप्ठेरो सडक त्यहीँमाथि बढी भार हुँदा जिपले नियन्त्रण गुमाएको हुनसक्छ ।” चालकको अपरिपक्वता र लापरवाहीले दुर्घटना निम्तिएको हुनसक्ने वडाध्यक्ष विजय अधिकारीले बताए । “अनुसन्धानबाट वास्तविकता बाहिर आउला”, उनले भने, “घटनाको प्रकृति हेर्दा लापरवाही भएको देखिन्छ ।”

यात्रुले पनि सजगता नअपनाएको स्थानीयवासीको भनाइ छ । साँझको समयमा घर फर्कने हतारले कोचिएर जिपमा यात्रा गरेको बुझिएको छ । चालकले नचढ्नु भन्दा पनि यात्रुले अटेर गरी चढेको समेत बताइएको छ । दुर्घटनामा परी सोही वडाकी १९ वर्षीया प्रियङ्का पुन, ३० वर्षीया तुलसी पुन श्रीष, १३ वर्षीया ज्योति पुन र १४ वर्षीया एलिना पुनको मृत्यु भएको थियो । तुलसी र एलिनाको घटनास्थलमै र प्रियङ्का र ज्योतिको उपचारका लागि धवलागिरि अञ्चल अस्पतालमा ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते छ जनाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइते सामान्य उपचारपछि घर फर्केका छन् । दुर्घटनापछि छिस्तीको केवै गाउँ शोकमग्न बनेको छ । दुर्घटना भएलगत्तै सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि र सर्वसाधारण उद्धारमा खटिएका थिए । रासस

फाइल :तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.