पोखरा ।
कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया शुरु हुने भएको छ ।
गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) जानकारी दिए ।
उनका अनुसार सिक्लेसको एक हजार ५०० मिटरको उचाइ भुलकुचाबाट शुरु भई तीन हजार ८०० मिटर उचाइको अन्नपूर्ण बेसक्यामस्थित कुरीमा केबुलकार सञ्चालन हुनेछ ।चन्द्रागिरि केबुलकार टिमको सक्रियतामा निर्माण गरिने सिक्लेस–कोरी केबुलकारअन्तर्गत समुद्री सतहबाट लगभग दुई हजार ५०० मिटरको उचाइमा चताखर्कामा १२० बेड क्षमताको रिसोर्ट निर्माण गरिने बताइएको छ ।
विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) एवं वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य भइरहेको जानकारी दिँदै उनले यसको कूल लागत छ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।केबुलकारको १५ प्रतिशत शेयर स्थानीय बासिन्दालाई वितरण गरिने व्यवस्था मिलाइएको छ ।
अन्नपूर्ण हिमालको उच्च बुकेनीफाँटमा नेपालको मध्यविन्दु स्तम्भ उद्यानसमेत निर्माण गरिने लक्ष्य राखिएको उक्त केबुलकार चन्द्रागिरि समूहले निर्माण गर्ने भएको हो ।नीति तथा कार्यक्रममा केबुलकारसँगै पर्यटनलाई गाउँपालिकाको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा लिइएको उल्लेख गर्दै उनले पर्यटकीय गन्तव्य विकासका लागि भौतिक संरचना निर्माणमा जोड दिइएको बताए ।
गाउँपालिकाअन्तर्गतका प्राकृतिक महत्वका स्थानहरुमध्ये होचो स्थानमा रहेको कपुचे हिमाल, कोरी, ठूलोलेक, क्होलासोँधर, दूधपोखरी, सवुपोखरी, कपुडाँडा, लम्तरीडाँडा, ताराहिलटप, नेपालको मध्यविन्दुलगायतका स्थानलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.