www.tandavnews.com
Fact ~ In search of truth

सुरु भयो तिहार, आज काग तिहार, किन गर्ने कागको पुजा ?

पोखरा / ताण्डव न्यूज । 

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।

चान्द्रमासअनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिन झिलीमिलीको पर्व तिहार मनाइन्छ ।यस अवधिमा यमराजसमेत आफ्नी बहिनी यमुनाको निमन्त्रणामा बिदा लिएर बस्ने विश्वास गरिन्छ ।

Batas

यसैले यो पाँच दिनको अवधिलाई यमपञ्चक पनि भनिन्छ । यम यातनाबाट मुक्ति पाउन आजैदेखि घरघरमा परिवार सङ्ख्याका आधारमा यमदीप दान गर्ने विधि छ । यमदीप दान बेलुकी गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

पहिलो दिन काग तिहार

यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ । यस दिन कागलाई मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ । कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय परम्परा छ ।

आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा काग रुपी महादेवलाई पूजा गर्ने भक्तजनको भीड लाग्छ ।कात्तिक २० गते मङ्गलबार कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ । बिहानै उठेर तिलको तेल घसेर स्नान गरेमा यमराज प्रसन्न हुने जनविश्वास छ । स्नानपछि कुकुरलाई मीठा खानेकुरा खान दिइन्छ । काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ ।

काग र कुकुरलाई मीठा खानेकुरा खान दिइए पनि पूजा गर्ने शास्त्रीय विधि भने नरहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । कात्तिक २१ गते बुधबार कार्तिक कृष्ण औँशीका दिन लक्ष्मी पूजा गरिन्छ ।

यसदिन बेलुकी दीपमालिका गरेपछि धनधान्यकी देवी लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ । यसैदिन भलो होस् भनी भैलो खेल्ने चलन छ ।

कूल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाईपूजा गर्ने गरेका छन् । गाईपूजा नगरी लक्ष्मीपूजा नगर्नेले कात्तिक कृष्ण औँशीकै दिन बिहान गाई पूजा गर्ने गरेका हुन् । शास्त्रीय रुपमा गाईको पूजा कात्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा गौतमले बताए ।

कात्तिक २२ गते कात्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ । हलतिहारसमेत भनिने यसदिन बेलुकी देउसी खेलिन्छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते शुक्रबार भाइटीका परेको अध्यक्ष गौतमले बताउनुभयो । तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म हिन्दूको दोस्रो ठूलो पर्वका रुपमा दीपावलीअर्थात् तिहार मनाउने गर्छन् । यी पाँच दिन पृथ्वीको शासन बलि राजाले गर्नुहुने पौराणिक मान्यता छ । बलि दानशील राजा थिए । वामन रुप लिई भगवान् विष्णुले तीन पाइला जमीन माग्दा पातालमा भासिनुपरेको कथा विभिन्न पुराणमा वर्णन गरिएको छ ।

समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २३ गते शुक्रबार मध्याह्न ११ बजेर ५५ मिनेटमा उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष गौतमले राससलाई जानकारी दिनुभयो । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । कात्तिक २३ गते भाइटीका लगाएपछि दोस्रो ठूलो चाड तिहार सकिन्छ ।   रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.