www.tandavnews.com
Fact ~ In search of truth

सुशासन उच्च प्राथमिकताः मुख्यमन्त्री राई

विराटनगर ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासनलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन् ।

काठमाडौँस्थित अमेरिकी सेन्टर, नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग संगठन मोरङशाखद्वारा संयुक्तरुपमा आयोजित ‘स्थानीय सरकारका पदाधिकारीका लागि सुशासन’सम्बन्धी तीनदिने तालीम आज शुभारम्भ गर्दै उनले जनताका सेवा प्रदायक निकायले विकास र पूर्वाधार निर्माणमा सुशासन कायम राख्न शून्य सहनशीलता अपनाएको जानकारी दिए ।

मुख्यमन्त्री राईले विकासमा पारदर्शिता नै सुशासनको पहिलो प्राथमिकता भएकाले नागरिकको यसमा प्रत्यक्ष सहभागिता र खबरदारीबाटै प्रतिफल प्राप्त हुनाका साथै सुशासन कायम गर्न सकिने विश्वास व्यक्त गरे ।

उनले प्रदेश सरकारले विकास, नीति निर्माण तथा बजेट बाँडफाँटमा जनतालाई जोडेर कार्य गरिरहेको जानकारी दिँदै गरीबी निवारण, रोजगारी र सामाजिक क्षेत्रमा गरिने कार्यबाटै जनताले सुशासनको अनुभूति गर्ने बताए ।

मुख्यमन्त्री राईले स्थानीय सरकारबाट प्रदान गरिने सेवा छिटो, छरितो, सहज र सरल ढङ्गबाट नागरिकमा प्रदान गर्नु पर्नेमा जोड दिँदै जनता बलियो भए मुलुकमा सुशासन कायम भई ‘समृद्ध नेपाल सुखी नेपाल’ अभियान पूरा गर्न सकिने बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुशासनबाटै मुलुक र जनता समृद्ध हुने भएकाले निर्माण कार्यमा नागरिकको अनुगमन एवं निगरानी आवश्यक हुनेमा जोड दिए । अमेरिकी सेन्टरका प्रमुख सुलभराज भट्टले स्थानीय निकायले गर्ने कार्यमा सुशासन कायम राखी जनतालाई छिटो र छरितो सेवा प्रदान गर्न तालीम उपयोगी हुने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, उद्योग सङ्गठन मोरङ शाखा अध्यक्ष भीम घिमिरे र तारा निरौलाले स्थानीय निकायका पदाधिकारीलाई कार्य सम्पादनमा सहज बनाउनका लागि सो तालीम आयोजना गरिएको बताए ।

प्रदेश नं १ र २ का महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका उपप्रमुखको सहभागिता रहेको उक्त तालीम यसअघि अन्य चार प्रदेशमा सञ्चालन भइसकेको जनाइएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.