www.tandavnews.com
Fact ~ In search of truth

स्थानीय तह र प्रहरीको समन्वयमा तीज मनाउन आग्रह

काठमाडौं ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तीजलाई मौलिक, सभ्य, सुसंस्कृत, मर्यादित र शान्तिपूर्ण तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी कृष्णबहादुर कटुवालले स्थानीय तह र स्थानीय प्रहरीको समन्वयमा तीजलाई मौलिक संस्कृतिका रुपमा मनाउन अनुरोध गरिएको जानकारी गराए ।

काठमाडौँका स्थानीय तहका जनप्रतिनिधिले पछिल्लो पटक तीज मनाउने क्रममा मौलिक संस्कृति मेटिँदै गएको भन्दै प्रशासनमा आएपछि भड्किलो नभई शान्तिपूर्ण तरिकाले तीज मनाउन आग्रह गरिएको उनले बताए ।

“तीज चाँडको आफ्नै मौलिक विशिष्टता एवं सामाजिक परम्परा कायम रहेको छ । माइती र चेलीलाई मात्र नभएर सिङ्गो समाजलाई जीवन्त, मौलिक र पारस्पारिक सम्बन्धलाई यसले जोडेको देखिन्छ” प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

सूचनामा पछिल्लो समयमा तीज आउनुभन्दा धेरै पहिलेदेखि यस पर्वका नाममा बढ्दो तडक भडक, गहगरहना र लुगाको प्रदर्शन, आडम्बर, उत्ताउलोपन, फजुल खर्च, ध्वनी, प्रदूषण र चोरी हुने जस्ता विकृतिजन्य क्रियाकलापले तीज पर्वको मौलिकतामा माथि आँच पुगको उल्लेख छ ।

प्रशासनले छुट्टै सामाजिक र मौलिक विशिष्टता कायम रहेको चीजको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व कायम राख्नसमेत अनुरोध गरेको छ । केही वर्ष यता काठमाडौँमा तीज मनाउने क्रममा मौलिक संस्कृति बिर्सदै पार्टी प्यालेस, रेष्टुरेण्ट जस्ता ठाउँमा भड्किलो खर्च गर्दै मनाउन थालिएको छ । हिन्दू महिलाले सदियौँदेखि मनाउँदै आएको हरि तालिका तीज यसवर्ष आगामी भदौ १६ गते परेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.