www.tandavnews.com
Fact ~ In search of truth

स्मार्ट मेयरका, स्मार्ट गफ

विनिता सुनार
पोखरा, ताण्डव न्यूज । 

राज्य स्थानीय तहमा गएको २ बर्ष बितिसक्यो । स्थानीय निर्वाचनको क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट पोखरा महानगरपालिकाका प्रत्यासित उम्मेदवार मानबहादुर जिसीले चुनाव जिते । उनले जिते पश्चात नै पोखरा महानगरलाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मेयर पदमा बिजयी भएका नेकपाका मानबहादुर जिसीले दुई बर्ष बितिसक्दा समेत उक्त प्रतिबद्धता पूरा गर्न सकेका छैनन् । स्मार्ट सिटीको परिकल्पना ल्याएका स्मार्ट जिसीको कुरा स्मार्ट गफ जस्तै देखिएको छ । चुनावताका उनले पहिलो चरणमा महानगरपालिकालाई प्रविधिमैत्री बनाउने, सार्वजनिक सवारी साधनमा अनिवार्य ग्लोबल पोजिसनिङ सिस्टम (जिपीएस) जडान गर्ने, ग्रीन सिटी, क्लिन सिटी सहित स्मार्ट महानगर बनाउने घोषणा गरेका थिए ।

Batas

हाल मेयर जिसीले उक्त प्रतिबद्धताहरु काम चलाउ तरिकाले मात्र गरेको जस्तो देखिन्छ । जिसीको काम खाली लोकप्रियता कमाउन बाहेको शहर व्यववस्थित बनाउने तर्फ बढेको देखिदैन् । उनले बोलेका र पूरा नभएको केही घोषणाहरु हामीले समेट्ने प्रयास गरेका छौं ।

गुजुल्टिएको तार

२०७५ मंसिर २७ गतेबाट पोखरा महानगरले सडक छेउमा अव्यवस्थित तबरले रहेका बिजुलीका पोल र गुजुल्टीएका तारहरु पन्छाउने अभियान सुरु भयो । निकै तामझामका साथ पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले गुजुल्टीएको तार हटाउने अभियानको सुरुवात गरेका थिए । तर अहिलेसम्म त्यो अभियानले निरन्तरता भने पाउन सकेको छैन ।

पोखरा महानगर भित्रका विद्युतका पोलमा टाँगिने तारहरु बिना अनुमति टाँगिने गरेकोले सम्बन्धित निकायलाई जानकारी गराएको भनिएपनि हालसम्म त्यसको केही परिणाम देख्न सकिएको छैन । यसरी हेर्दा विद्युत विभाग र महानगरपालिकाबीच नै सहकार्य हुन नसकेको हो कि भन्ने देखिएको छ । सिद्धार्थचोकबाट सुरु भएको त्यो अभियानले हालसम्म केही उपलब्धी मुलक काम नगरेको स्थानीयहरुको गुनासो समेत सुनिन्छ ।

पोखराका भद्रगोल सडक

पोखराको अर्को मुख्य समस्या हो भद्रगोल सडक । पोखरा महानगरपालिका भएपनि पोखरेलीबासीहरु अझै खाल्डो रहित बाटोमा सवारी साधन चलाउनबाट बन्ञ्चित हुन सकेका छैनन् । पोखरा महानगरपालिकाले हरेक महिना नयाँ–नयाँ अभियान सार्वजनिक गर्दै हिँडेपनि त्यसलाई अझै कार्यान्वयनमा लैजान भने सकेको छैन । मेयर जिसीले पोखरालाई स्मार्ट सिटी बनाउने घोषणा गरेपनि पोखरा महानगरपालिको विकासमा अझै धेरै चुनौतीहरु थपिएको देखिन्छ । मानबहादुर जिसीले मेयर पदमा विजयी भएकै दिन महानगरमा सडक खाल्डा परे २४ घण्टाभित्र मर्मत गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । तर हालसम्म पोखराका हरेक सडकहरु खाल्टा खुल्डीले बिजोक देखिएका छन् ।

स्मार्ट प्रतिक्षालय

२०७५ बैशाख २६ गतेदेखि डिजिटल यात्रु बस प्रतिक्षालयको सुरुवात ग¥यो । पोखरा महानगरपालिले यात्रुहरुको सुविधाका लागि पोखराको पृथ्वीचोक, सभागृहचोक गरी ५३ स्थानहरुमा स्मार्ट प्रतिक्षालय राखिसकेको छ ।

यात्रुहरुलाई सेवा सुविधा दिने हिसाबले सुरु गरिएको स्मार्ट प्रतिक्षालयले अहिले यात्रुहरुलाई नै निराश बनाएको छ । स्मार्ट भनिएर सुरुवात गरेका प्रतिक्षालयमा कम्तिमा चार जना यात्रुहरु समेत बस्न नमिल्ने अवस्था छ । त्यति मात्र नभई सहभागृहमा रहेको प्रतिक्षालयको हालत निकै नाजुक छ । कुन बेला दुर्घटना हुने हो त्यसमा अझै महानगरको ध्यान जान सकेको छैन ।

सडक बालबालिका

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबीच सडक बालबालिकालाई संरक्षणका लागि सम्झौता भएको थियो । महानगरको सहकार्यमा सडक बालबालिकाहरुको लागि सामाजिक विकास मन्त्रालयले ८५ लाख बजेट छुट्टाएको थियो । तर प्रदेश सरकार महानगरपालिकाबीच गतबर्ष नै समन्वय भएपनि अझैपनि कार्यान्वयन भएको छैन । गएको मंसिरको तथ्यांकअनुसार पोखरा महानगरपालिकामा अझै ७९ जना सडक बालबालिकाहरु सडकमै रमाउन बाध्य भएका छन् ।

महिला हिंसा न्यूनिकरण

मेयर मानबहादुर जिसीले महानगरको जिम्मेवारी लिएकै दिन चुनाबी घोषणा अनुसार महिला हिंसाा न्यूनिकरणमा हस्ताक्षर गरेका थिए । तर आर्थिक बर्ष २०७५÷७६ को तथ्यांकअनुसार बिगतको तुलनामा महिला हिंसा बढ्दै गएको देखिएको छ । त्यसमा अझै पनि महानगरपालिको ध्यानआकर्षण हुन सकेको छैन ।

के भन्छन् मेयर ?

 मानबहादुर जीसी 

महानगरपालिकामा २७ किलोमिटर बाटो सडक विभागले हेर्ने हो तर सडकमा खाल्डा खुल्डी भयो भने महानगरपालिकामा नै गुनासो आउँछ, तर तुलानामा रुपमा हिजोको भन्दा आज धेरै खाल्डा खुल्डीहरु कम हुँदै गएको छ । महानगरपालिका भित्रका चाहे त्यो सडक होस् वा अन्य कुनै समस्याहरु होस् पहिलाका तुलनामा धेरै नै कम हँुदै गएको छ ।

त्यसैमा पनि अझै महानगरपालिका कसरी लाग्छ भन्ने कुरामा महानगरपालिका लागिपरेको छ । अब त्यो सडकको बारेमा नबुझिकन हामीले खाजेको सडक पाइदैन । अर्काे तारको गुजुल्टोको कुरामा पोल सार्नेका लागि मात्र ३÷४ करोड लाग्ने देखिन्छ । त्यो विद्युतको जिम्मेवारी हो, विद्युतले नै रोयल्टी उठाउँछ तर त्यही अनुसार पोलहरु भने सार्दैन, त्यसको मुख्य समस्या भनेको त्यही हो । त्यहाँ हजारौ केबुल र बिद्युतका तारहरु छन् त्यसलाई व्यवस्थापन गर्नको लागि महानगरपालिकाले १ महिनासम्म हेरेको हो ।

तर, त्यसमा हाम्रो प्रयासले मात्र नहुने भएकाले त्यसलाई नयाँ खालको प्रविधिमा जाने महानगरले सोंच बनाएको छ । स्मार्ट प्रतिक्षालयलाई पनि डिजिटललाइज तरिकामा लैजान खोजीएको हो । महानगरपालिकाले सडक विभाग, विद्युत प्राविधिकरणसँग सहकार्य गर्न खोज्दा पैसा छैन भनेर तर्कन खोज्छ, महानगरपालिकाले मात्र एक्लै सबै व्यवस्थापन गर्न सक्ने ठाउँ छैन ।

त्यसैले सम्पूर्ण महानगरपालिका भित्र भएको गतिविधिको जिम्मेवारी महानगरपालिकाले नै लिनुपर्छ भन्ने स्थिति नहुने बित्तिकै यस्ता समस्याहरु आउँछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.