www.tandavnews.com
Fact ~ In search of truth

स्याङ्जामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन

स्याङ्जा ।

स्याङ्जाको भीरकोट नगरपालिकाले ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र सञ्चालन गरेको छ ।

नगरपालिकाका नौवटै वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्ने लक्ष्यअनुसार ८ नं वडाको ढापुकमा पहिलो दिवा सेवा केन्द्र सञ्चालन गरिएको नगर प्रमुख छाँयाराम खनालले बताए ।

नगर प्रमुखसँग ज्येष्ठ नागरिक कार्यक्रम’ अन्तर्गत भीरकोट क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिकलाई एकापसमा चिर परिचित गराई उनीहरुको दिनचर्यालाई सहज र सरल बनाउनका लागि ‘एक वडा, एक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र’ निर्माण गर्नका लागि आवश्यक स्थान पहिचान गरी डिपिआर गर्ने नीति नगरपालिकाले अगाडि सारेको छ ।

‘जीवित इतिहासको रुपमा रहेका ज्येष्ठ नागरिकहरु एक आपसमा भेटघाट भई आफ्ना अनुभवको आदानप्रदान गर्न सकून् भन्ने उद्देश्यले केन्द्रको स्थापना गरेका हौँ’, नगर प्रमुख खनालले भने, ‘नगरका प्रत्येक वडामा केन्द्र स्थापना गर्ने लक्ष्यअनुसार पहिलो केन्द्र ८ नं वडाको ढापुकमा स्थापना गरेका हौँ यो नै पहिलो ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र हो ।’

विशेष गरी बाक्लो बस्ती भएका र सबैलाई पायक पर्ने स्थानलाई प्राथमिकतामा राखी बाँकी वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गरिने नगर प्रमुख खनालको भनाइ थियो ।

दिवा सेवा केन्द्र सञ्चालनमा आएसँगै ढापुकका स्थानीय ज्येष्ठ नागरिक दिउँसोको समयमा भजनकीर्तन, भलाकुसारी गर्ने, अनुभव आदानप्रदान गर्दै सहजै दिन बिताउनतर्फ सक्रिय रहेकाले केन्द्रको प्रभावकारिता बढ्दै गएको नगर प्रमुख खनालले दाबी गरे ।

पछिल्लो समय गाउँ घरमा विकासको क्रमसँगै पुराना पाटी पौवा तथा चौतारा हराउँदै गएको अवस्थामा नगरपालिकाले स्थापना गरेको दिवा सेवा केन्द्रले निकै सकारात्मक भूमिका खेलेको ढापुकका ८७ वर्षीय रेशमबहादुर खत्रीले बताए ।

दिउँसोको समयमा घर परिवारका अन्य सदस्य कामका लागि बाहिर निस्केका समयमा घरमा एक्लै बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ भने दिवा खाजाको समेत व्यवस्था मिलाइएको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए।

भीरकोट नगरपालिका र प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहकार्यमा १ नं वडा कार्यालय परिसरमै ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण सम्पन्न भएकाले अब छिट्टै सञ्चालनमा आउने नगर प्रवक्ता केसीले बताए ।

नगरपालिकाभित्र बसोबास गर्ने ८० वर्षमाथिका ज्येष्ठ नागरिकको उच्च मनोबल र स्वस्थ जीवनयापनका लागि दीर्घजीवनको कामना गर्दै नगरपालिकाले ज्येष्ठ नागरिकको समस्या र असहजताका लागि अश्वगन्धा, च्यावनप्रास वितरण गरेको नगर प्रमुख खनालले बताए ।

नगरभित्र रहेका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको भीरकोट नगरपालिकाले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.