www.tandavnews.com
Fact ~ In search of truth

स्वास्थ्यकर्मीले पाएनन् असोजदेखि तलब

दमौली ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीले चार महीनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

अस्पतालमा कार्यरत ६० मध्ये करारका ५७ स्वास्थ्यकर्मी र कर्मचारीले असोज महीनादेखिको तलब नपाएको गुनासो गरेका हुन् । तीन स्वास्थ्यकर्मी सरकारले काजमा खटाएको स्थायी दरबन्दीका हुन् । चार महीनादेखि तलब नपाउँदा समस्या भएकोे प्रशासन शाखामा कार्यरत नायव सुब्बा पूजा कार्कीले बताए ।

सिन्धुली घर भई उपचार केन्द्रमा कार्यरत उनले मासिक खर्चका लागि घरबाटै रकम मगाउनुपर्ने बाध्यता रहेको गुनासो गरे । उनले भने, “आफ्नै जागिर भए पनि तलब नपाउँदा घरबाटै मागेर गुजारा टारिरहेको छु ।” उनका अनुसार करारका कर्मचारीको म्याद थप नहँुदा अन्योलको स्थिति सिर्जना भएको छ ।

Batas

उपचार केन्द्रका प्रमुख डा . रामकुमार श्रेष्ठले सरकारले बजेट विनियोजन नगर्दा तलब खुवाउन नसकिएको जानकारी दिए । चालू आर्थिक वर्षमा सरकारले अस्पतालका लागि अत्यन्तै न्यून बजेट पठाएको उनले बताए । उनले भने, “सरकारले अस्पतालमा कार्यरत कर्मचारीको तलबभत्ता र प्रशासनिक खर्चमा २० लाख पठाएको थियो । तर एक महीनामा तलबभत्तामा १५ लाख खर्च हुन्छ ।”

उनका अनुसार सरकारले पठाएको रकमले एक महीनाको तलब खुवाउन पुगेको छ । उनले सरकारले पठाएको रकमबाट साउन महीनाको तलब दिएर पाँच लाख बचेको र अस्पतालको आन्तरिक रकम थप गरेर भदौ र असोज महीनाको तलबभत्ता भुक्तान गरिएको बताए ।

विसं २०६७ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वको सरकारले पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति स्व . गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयअनुसार सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व हस्तान्तरण गरी श्वासप्रश्वास उपचार केन्द्र सञ्चालन गरिएको हो । लामो समयदेखि सञ्चालन भएको अस्पतालमा छुट्टै श्वासप्रश्वास उपचार केन्द्र स्थापना हुनसकेको छैन । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.