www.tandavnews.com
Fact ~ In search of truth

१३ औँ साग तयारीका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा

काठमाडौँ ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ ।

नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को तयारीका लागि हालै सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समावेश गरी बन्द प्रशिक्षणमा राख्ने निर्णय भएको राखेपले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीलाई जेठ पहिलो साताबाट बन्द प्रशिक्षणमा राखिनेछ । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मा संयोजक रहेकोे प्रतियोगिता तयारी तथा व्यवस्थापन मूल समारोह समितिको बैठकले नेपाली खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गर्ने निर्णय गरेको हो । सागमा नेपालबाट ६२५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

यसअघि आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता बारम्बर सर्दा सागको भविष्य अन्योलमा पर्दै आएको थियो । गएको फागुन–चैतमा नेपालले आयोजना गर्ने गरी निर्णय भएको १३औँ साग आठौँ राष्ट्रिय खेलकूद र पूर्वाधार पुनःनिर्माणमा भएको ढिलाइले गर्दा छ महीना पर आगामी मङ्सिर दोस्रो साता हुने तय भएको छ । तेह्रौँ साग नेपालले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म आयोजना गर्नेछ ।

उक्त बैठकले प्रतियोगिताको मस्कट र लोगोसमेत पारित गरेको छ । मस्कट र लोगोलाई केही दिनमा सार्वजनिक गर्ने तयारी रहेको युवा तथा खेलकूद मन्त्रालयले जनाएको छ । यस्तै बैठकले प्रतियोगितामा सहभागिता जनाउने देशलाई परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा पठाउने निर्णय गरेको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.