www.tandavnews.com
Fact ~ In search of truth

१५ महीना बितिसक्दा दरबारको जग मात्रै बन्यो

गोरखा ।

भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ भएको छ । पुनःनिर्माणको काम शुरु भएको करीब १५ महीना बितिसक्दा पनि दरबारको जग निर्माण बाहेकको काम अघि बढ्न सकेको छैन् । पुरातत्व विभागले २०७४ कात्तिकमा पचली सिवाको जेभी कन्सट्रक्सनसँग गोरखा दरबार पुनःनिर्माण गर्न ठेक्का सम्झौता गरी काम अघि बढाएको थियो ।

पुनःनिर्माणको काम शुरु भएदेखि अहिलेसम्म पटक–पटक कहिले कामदारको अभाव त कहिले सामान दुवानीको समस्यालगायतका कारण देखाउँदै काम रोकिने गरेको छ । “अहिलेसम्म दरबारको जगबाहेक अरु काम अघि बढेको छैन”, गोरखा दरबार हेरचाह अड्डाका निमित्त प्रमुख रामेश्वर कट्टेलले भने, “अब केही दिनमा काठको थाम राख्ने काम शुरु हुन्छ भनेका छन् ।”

अहिले दरबारका लागि नापअनुसारको काठ अभाव भएको जानकारी आफूलाई ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उनले जानकारी दिए ।पुनःनिर्माणका लागि दरबार भत्काउने बेलादेखि नै कामदार आउने र काम छाडेर जाने गरेकाले पनि निर्माणमा ढिलाइ भएको उनको भनाइ छ । निमित्त प्रमुख कट्टेलले प्राविधिक अनुगमन प्रभावकारी हुन नसक्दा ठेकेदारले काममा ढिलासुस्ती गरेको बताए ।

ठाउँ अभावका कारण निर्माण सामग्री ल्याएर राख्नसमेत समस्या भएको र निर्माण सामग्री कमी हुदाँ एकैपटक सबै कामदारलाई काम लगाउन नसकिएकाले ढिलाइ भएको जानकारी ठेकेदार कम्पनीका प्रतिनिधिले दिएको उनले बताए।जग निर्माणकै क्रममा दरबारको पूर्वी इसान भागमा राजगद्दीभन्दा केही पछि रहेको ढुङ्गामा लकासी राख्न मिल्ने या नमिल्ने भन्ने अन्योलता रहेको उनले बताए ।

पुरातत्व विभागले २०७६ पुसभित्रमा दरबार पुनःनिर्माण सम्पन्न गर्ने गरी सिवाको जेभी कन्सट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार करीब चार करोड ३७ लाख लागतमा पुनःनिर्माण शुरु गरिएको हो ।

नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्याउएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ । गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पामा रहेको यस दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर रहेको छ भने गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिरसमेत रहेको छ । रासस

फाइल तस्बिर

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.