www.tandavnews.com
Fact ~ In search of truth

१५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाउँदै प्रदेश सरकार

पोखरा ।

समृद्धिको प्रमुख आधार पर्यटनलाई मानेको गण्डकी प्रदेश सरकारले १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष मनाइरहेको छ ।

गत वर्ष फागुन ९ गते पर्यटन वर्ष घोषणा गरेको सरकारले पर्यटन वर्ष सकिन तीन महीना बाँकी रहँदा ‘आन्तरिक पर्यटन वर्ष २०१९–२२’ सफल पारौँ भन्ने नारासहित आफ्नो लक्ष्य पूरा गर्न चार प्रदेशमा प्रर्वद्धन अभियान शुरु गरेको छ । बाँकी अवधिमा लक्ष्यअनुसार आन्तरिक पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ ।

असोज ९ देखि १६ गतेसम्म प्रदेश घुम्न पाहुनालाई निमन्त्रणा गर्ने योजनासहित सरकारी अधिकारी, पर्यटन व्यवसायी, कलाकार र सञ्चारकर्मीसहितको ५० जनाको प्रर्वद्धन टोली पोखराबाट भैरहवाका लागि प्रस्थान गरेको छ । भैरहवाबाट वीरगञ्ज, विराटनगर हुँदै टोली काठमाडौँ पुग्नेछ ।

अभियानका क्रममा प्रदेश ५ को बुटबल, २ को वीरगञ्ज, १ को विराटनगर र प्रदेश ३ को काठमाडौँमा टोलीले सांस्कृतिक कार्यक्रम, प्रदेशको पर्यटन प्रर्वद्धनसम्बन्धी श्रव्यदृश्य सामग्री प्रस्तुति, प्रदेशका आकर्षक ११० पर्यटकीय गन्तव्यको तस्बिर प्रदर्शनीलगायत कार्यक्रम गर्ने छ ।

यस क्षेत्रका मौलिक सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया, पत्रकार भेटघाट तथा विभिन्न छुटका प्याकेजसहित गण्डकीमा घुम्न आउनका लागि सन्देश पुर्याइने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए । टोलीले अभियानका क्रममा त्यहाँ व्यवसायीहरुसँग अन्तरक्रिया गर्नेछ ।

बुटबल, नवलपुर, भरतपुर, वीरगञ्ज, विराटनगर, विर्तामोडलगायत स्थानमा सरकारी अधिकारी, निजी क्षेत्र, सञ्चारकर्मी र व्यवसायीसँग छलफल गरी गण्डकीमा घुम्नका लागि आग्रहसहितको निमन्त्रणा पत्र प्रदान गर्ने टोलीको योजना छ ।

असोज ११ देखि १३ गतेसम्म पूर्वका शहरमा प्रवद्र्धन अभियान सकेर टोली असोज १४ गते काठमाडौँका लागि प्रस्थान गर्नेछ । असोज १५ गते राजधानीमा विभिन्न प्रर्वद्धनात्मक कार्यक्रमपछि गण्डकी प्रदेशका मुख्यमन्त्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई सबैलाई गण्डकी प्रदेश घुम्नको आग्रहसहित औपचारिक निमन्त्रणा पत्र प्रदान गर्ने कार्यक्रम छ ।

उक्त टोली असोज १६ गते पोखरा फर्कने कार्यक्रम रहेको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख कीर्तनराज पौडेलले जानकारी दिए ।प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने योजनासहित प्रर्वद्धन अभियान शुरु भएको बताए । उनले आन्तरिक पर्यटन प्रर्वद्धन अभियान गण्डकी प्रदेश र समग्र नेपालको पर्यटन प्रवद्र्धनका लागि सानो पाइला भएको उल्लेख गरे ।

पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले सरकारी पक्षबाट समेत प्रर्वद्धनको कार्यक्रम शुरु गरिएकामा खुशी व्यक्त गर्दै यसले पोखराको पर्यटन विकासमा योगदान पुग्ने भएकाले आफूहरु उत्साहित भएको बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.