www.tandavnews.com
Fact ~ In search of truth

४३ आगलागीपीडित परिवारलाई पहिलो किस्ता

बागलुङ ।
ढोरपाटन नगरपालिका–९ नवी गाउँका आगलागी पीडित परिवारलाई घर पुनःनिर्माणका लागि पहिलो किस्ता रकम प्रदान गरेको छ ।

गत मङ्सिर ९ गतेको आगलागीले नवीका ३० घर जलेर नष्ट भएका थिए । घटनालगत्तै नगरपालिकाले घर पुनःनिर्माणमा सघाउने प्रतिबद्धता गरेको थियो । तीस घरमा बसोबास गर्दै आएका ४३ परिवारलाई पहिलो किस्तास्वरूप २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । पहिलो किस्ताबाट कूल १० लाख ७५ हजार रुपैयाँ पीडित परिवारमा पुगेको छ ।

नगरपालिकाले प्रतिपरिवारलाई दिने एक लाखमध्ये बाँकी ७५ हजार रुपैयाँ दोस्रो किस्तामा प्रदान गरिने नगरप्रमुख देवकुमार नेपालीले बताए । नगरको विपद् व्यवस्थापन कोषबाट उक्त सहयोग प्रदान गरिएको हो । “तत्काल इञ्जिनीयर पठाएर घर निर्माणको काम शुरु गर्छौं” उनले भने, “सबै घर एकै किसिमका बन्नेछन् ।” दुई कोठा र शौचालयसहितका एक तले घर भूकम्प प्रतिरोधी हुने जनाइएको छ । नवीलाई एकीकृत नमूना गाउँका रूपमा विकास गर्ने योजना नगरपालिकाको छ ।

Batas

घर पुनःनिर्माणमा ढुङ्गा, काठसहित स्थानीय सीप र प्रविधिको प्रयोग गरिने भएको छ । घर छाउन चाहिने जस्तापाता नगरप्रमुख नेपालीले व्यक्तिगतरूपमा उपलब्ध गराउने भएको छ । पुनःनिर्माण सकिएपछि हरेक घरमा सौर्यबत्ती राख्ने योजना नगरपालिकाले बनाएको छ । ढोरपाटन शिकार आरक्ष क्षेत्रभित्र पर्ने नवी गाउँका बासिन्दा जाडो छल्न अहिले बोबाङमा छन् ।

घर बनाएर आउँदो वर्षाअगावै नवीमा सर्ने योजना रहेको आगलागी पीडितले बताएका छन् । ढोरपाटन उपत्यकामा बसोबास गर्ने स्थानीयवासी मौसमीरूपमा बसाइँसराइ गर्ने गर्छन् । जाडो सकिएपछि अन्नपात र वस्तुभाउ लिएर ढोरपाटन जाने चलन छ । आगलागीपछि राहत र पुनःनिर्माणमा नगरपालिकाले खेलेको भूमिकाप्रति पीडित परिवार खुशी छन् ।

आगलागी पीडित दिलकुमार विकले गाउँलेको दुःख, पीडामा नगरपालिकाले साथ दिएको बताए । उनले सहयोग रकमको सही सदुपयोग गर्ने उल्लेख गरे । आगलागीका कारण नवी गाउँका ४३ परिवारको वाससहित अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको थियो । आगलागीको कारण भने अझै खुल्न सकेको छैन । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.