www.tandavnews.com
Fact ~ In search of truth

सागमा प्याराग्लाइडिङसँगै क्रिकेट पनि

मुना कार्की
काठमाडौँ(रासस)

नेपालले आयोजनाको जिम्मा पाएको तेह्रौँ दक्षिण एसियाली खेलकूद (साग) प्रतियोगितामा यसपटक नेपालबाट नयाँ खेल प्याराग्लाइडिङलाई समावेश गरिएको छ ।

सागमा पर्यटन प्रवद्र्धनका लागि टेवा पुगोस् भन्ने उद्देश्यका साथ प्याराग्लाइडिङ र दक्षिण एसियाली राष्ट्रमा लोकप्रिय रहेको खेल क्रिकेटलाई पनि थप स्थान दिएको नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बताए।

Batas

सागमा क्रिकेट भने दोस्रो पटक समावेश गरिएको हो । यसअघि बंगलादेशमा सन् २०१० मा भएको ११ औँ संस्करणको सागमा क्रिकेट खेलले सहभागिता जनाएको थियो । सागमा नेपालबाट जम्मा २७ खेलको प्रतिनिधित्व हुनेछ । पहिले २५ खेलले मात्र भाग लिने निर्णय गरिए तापनि आयोजक राष्ट्रको हिसाबले थप दुई खेललाई प्राथमिकता दिएको एनओसीका अध्यक्ष श्रेष्ठले बताए ।

प्याराग्लाइडिङ र क्रिकेटसँगै आर्चरी, एथ्लेटिक्स, व्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फेन्सिङ, फूटबल, गल्फ, ह्यान्डबल, जुडो, कबड्डी, कराते र खोखो छन् ।

त्यसैगरी सुटिङ, स्वाक्स, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, ट्राइथलन, भलिबल, रेसलिङ, भारोक्तन र उसु खेलले नेपालबाट प्रतिनिधित्व गर्नेछ ।

नेपालबाट प्रतिनिधित्व गर्ने कूल खेलमा ३१५ वटा विधामा प्रतिस्पर्धा हुनेछ । एनओसीका अध्यक्ष श्रेष्ठले सागको समय तालिकामा कुनै फेरबदल नगरी निर्धारित समयमै प्रतियोगिता आयोजना गर्ने स्पष्ट पार्दै भने , “नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालय र राष्ट्रिय खेलकूद परिषद्ले पनि साग आयोजनाका सम्बन्धमा गम्भीर भएर चासो लिएकाले तोकिएको समयमै प्रतियोगिता हुनेछ ।” आगामी फागुनमा सञ्चालन हुने सागका खेल काठमाडौँ र पोखरामा सञ्चालन हुनेछ ।

साग सञ्चालन हुन करीब आठ महिना बाँकी रहँदा भौतिक पूर्वाधारको निर्माण कार्य भने चुस्त गतिमा हुन सकेको छैन । देशको एकमात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालालगायत अन्य विभिन्न ठाउँको रंगशाला निर्माणाधीन अवस्थामा नै छ ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिता आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिसक्ने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.