www.tandavnews.com
Fact ~ In search of truth

काल बन्दै टिप्पर

पोखरा
ताण्डव संवाददाता ।

‘प्रिय सर मलाई परिक्षामा पास गराउनु होला । यदी मलाई पास गराउनु भएन भने मलाई हजुरको बाइक नम्बर थाहा छ र मेरो साथीले टिप्पर चलाउछ’ सामाजिक सञ्जाल फेसबुकमा ट्रोल बनेको विषय हो यो ।

पाल्पाका एक व्यक्तिले आफ्नो फेसबुक वालमा यो पोष्ट गरेका थिए । मनोरञ्जनका लागि बनाईएको यो ट्रोल सत्य नभएपनि यसले दिन खोजेको सन्देश प्रस्ट छ । व्यङ्ग्य गरेर बनाइएको यो ट्रोलले कास्की मात्र होइन अन्य जिल्लामा पनि टिप्पर आतंक रहेको भन्ने बुझिन्छ ।

Batas

टिप्पर ड्राइभरले कुनै पनि सवारीलाई नटेर्ने भएकोले दुर्घटना भएको बुद्धचोकका स्थानीय नरेन्द्र थापाले बताए । ‘हाईवेमा झन बाइकले नभेटाउनी गरेर कुदाउँछ,’ उनले भने, ‘अधिकांश टिप्पर टोले गुन्डाहरुको छ, अनि ड्राइभरले कसलाई मान्छे गन्छ र’ ट्राफिक प्रहरीले स्पीड नाप्ने यन्त्र लिएर हाईवेमा बस्नु पर्ने थापाले सुझाए । ‘५५–६० को स्पीडमा पनि बाइकले भेटाउँदैन यस्तो कुदाउँछन्,’ उनले भने, ‘यतिकै त हेभि सवारी अनि त्यस्तो स्पीडमा आएपछि ब्रेक लाग्ने त कुरै भएन् ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले दिएको १० महिनाको विवरण हेर्दा ५ वटा ठूलो दुर्घटनामा टिप्परको संलग्नता देखिन्छ । जसबाट ४ जनाको ज्यान गएको छ ।

जेठ २५ गते पोखरा–२९ सैनिक बस्ती स्थित पृथ्वीराजमार्ग सडक खण्डमा पावर हाउसबाट बुद्धचोक तर्फ आउँदै गरेको टिप्पर र विपरित दिशाबाट गईरहेको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको । दुर्घटनाबाट मोटरसाइकमा सवार ५९ वर्षीय शुकलाल श्रेष्ठको ज्यान गयो ।

भाद्र १४ गते पोखरा–२६ सुन्दरीबजार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा पोखरा देखि तनहुँ तर्फ जादैँ गरेको टिप्पर र विपरित दिशाबाट आउँदै गरेको ट्रक एक आपसमा ठोक्किए । जसबाट ट्रकमा सवार ५० वर्षीय शेष घलेको मृत्यु भयो ।

पुस ९ गते पोखरा–१९ चुरुङ्गा काभ्रे स्थित ग्रामिण सडक खण्डमा पोखराबाट सार्दीखोला तर्फ जादैँ गरेको टिप्परले सार्दीखोलाबाट पोखरा आउँदै गरेको मोटर साइकललाई ठक्कर दियो । दुर्घटनामा १५ वर्षीय सबिन बास्तोलाले ज्यान गुमाउनु पर्याे ।

फाल्गुन ७ गते पोखरा १० चाउथे स्थित पृथ्वीराजमार्ग सडक खण्डमा औद्योगिक क्षेत्रबाट विजयपुर तर्फ जादैँ गरेको टिप्परले विपरित दिशातर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिई दुर्घटना भएको । दुर्घटनामा परि स्याङजा घर भएकी २१ वर्षीय युवती बन्दना पौडेलको ज्यान गयो ।

टिप्पर चालकै लापरवाहीको कारणले गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख तथा इन्स्पेक्टर ऐनबहादुर मल्लले बताए । ‘चालककै लापरबाही हो नत्र दुई प्रतिशत मात्र यान्त्रीक समस्याले गर्दा दुर्घटना हुने सम्भावना रहन्छ,’ उनले भने, ‘त्यो पनि चालकले ध्यान दिएर बेला बेला मर्मत गरायो भने दुर्घटना हुने सम्भावना नै हुँदैन ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.